Skip to main content

सामाजिक सञ्जाल मार्फत बजेटमाथि खनिए माओवादी सांसदहरु

Submitted by editor on
शिवराज भट्ट
नेकपा माओवादी केन्द्रका सांसदहरु

धनगढी ः असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथि सत्ता घटक नेकपा माओवादी केन्द्रका सांसदहरुले सामाजिक सञ्जालमा ‘वार’ सुरु गरेका छन । सत्ता पक्षका दुई सांसद पुर्वमन्त्री मान बहादुर धामी र ओमविक्रम भाटले विरोध गरेको केही घण्टामै अर्का दुई जना सांसद अक्कल रावल र लक्ष्मी विकले पनि प्रदेश सरकारले ल्याएको बजेटको सामाजिक सञ्जाल फेसबुकमा खुलेर विरोध गरेका छन ।


नेकपा माओवादी केन्द्रका सांसद अक्कल रावलले फेसबुकमा लेखेका छन, ‘सत्ता र शक्तिको आढडमा जनता ठग्नेहरुलाई जनकारवाही गर्न ढिला भईसक्यो, जनताको मत र विश्वासलाई ब्यापार ठान्ने काला प्रबृत्तीहरुको आयब्ययको विवरण बाहेक केही होईन, यो आब २०८०÷८१ को बजेट मान्नै सकिन्न ।’ 


उनले मात्रै होईन, दार्चुलाबाट समानुपातिक सांसद लक्ष्मी विकले पनि फेसबुकमा स्टाटस हाल्दै बजेटलाई फर्जि आदेशको कालो कर्तुत भनेकि छिन । उनी लेख्छिन, ‘दुई–चार जना अमुक ब्यक्तिको फर्जी आदेशको भरमा छापिएको रातो किताब भित्र काला काला डरलाग्दा कर्तुत बाहेक केही छैनन। समाजबादी मोर्चा बनेको दिन र मोर्चाको यो विशाल उद्देश्यमा आम गरिबका आँसुहरुले के भन्दै छ होला ? धन्य हाम्रो प्रदेश सरकार, जय मेरो देश जय प्रदेश ।’


सोमबार मात्रै प्रदेश सभा सदस्यहरुले रातो किताब पाएका छन । रातो किताब हेरेर सत्ता पक्षकै अरु दुई जना सांसदले पनि फेसबुकमा ब्यंग गरेका छन । पुर्व उद्योग पर्यटन बन तथा वातावरण मन्त्री मानबहादुर धामीले फेसबुकमा रातो किताबको बाहिरि आवरणको तस्बिर हालेर लेखेका छन, ‘तिमिसँग भेटन त के, हेर्नसम्म पनि लायक रहेनौ । डियर पवित्र । तिमि एक्लै बस्नु ल ।’ उनको स्टाटसले रातो किताबमा आएको बजेटप्रति उनको एकदमै बढी गुनासो देखिन्छ ।


नेकपा माओवादी केन्द्रकै अर्का सांसद ओमविक्रम भाटले पनि फेसबुक स्टाटस हाल्दै रातो किताबलाई कालो किताब भन्दै ब्यंग्य गरेका छन । उनले रातो किताबको स्यामस्वेत तस्बिर हालेर लेखेका छन, ‘सुदूरपश्चिम प्रदेशको आव २०८०÷८१ को रातो किताब, रातो आउने स्वभावित अपेक्षा थियो, तर कालो आएछ ।’ उनले काँग्रेस बजेटमा बढी हाबी भएको संकेत गरेका छन ।


बजेट माथिको छलफल सुरु नै भएको छैन । १ गते को बजेट बक्तब्यपछि संसद अनिश्चितकालका लागि स्थगित गरिएको थियो । संसद सचिवालयले बजेट माथिको छलफलको बारेमा अझै कुनै टुंगो नलागेको बताएको छ । ‘सोमबार त बजेट पुस्तिका हातमा परेको छ । केही  दिन अध्ययन गरेर छलफल होला’ एक जना प्रदेश सांसदले भने । 


असार १ गते प्रदेश सरकारले २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थियो । गत आवको भन्दा यो बजेट करिब ४ अर्वले सानो हो ।