Skip to main content

कैलालीको ६ लेन सडकमा भएको दुर्घटनामा एक जनाको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
सवारी दुर्घटना

धनगढी : कैलालीमा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
शुक्रबार राती मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा मोटरसाइकल दुर्घटनामा धनगढी उपमहानगरपालिका–५ का २८ वर्षीय संजय चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रबहादुर बोहोराले अत्तरियास्थित विद्युत कार्यालय नजिकै चौधरीले चलाएको सुपप्र ०१००८ प ९९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताए ।

चौधरीलाई तत्काल उद्दार गरेर सेती प्रादेशिक अस्पताल पुगाइएपनि चेकजाँचका क्रममा चिकित्सकले मृत घोषणा गरेको उनले बताए । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

यस्तै ६ लेन सडक खण्ड अन्तरगत धनगढीको चटकपुरमा शुक्रबार राति नै दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा चार जना घाइते भएका छन् । डीएसपी बोहोराले धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै सुपप्र ०१००८ प ८८०५ र से ७ प ५७४१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा चार जना घाइते भएको बताए ।

घाइते हुनेमा धनगढी उपमहानगरपालिका–३ का सुपप्र ०१००८ प ८८०५ नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय उमेश चन्द, से७प ५७४१ नम्बरको मोटरसाइकलका चालक अछाम साफेबगर नगरपालिका–१४ बस्ने १९ वर्षीय कैलाश साउँद रहेका छन् ।

साउँदकै मोटरसाइकल पछाडि सवार डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २२ वर्षीय खगेन्द्र खड्का र धनगढी उपमहानगरपालिका–९ बस्ने २७ वर्षीय वीरेन्द्र बोहरा पनि घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार घाइते चालकसहितका चारै जनाले मादक पदार्थ सेवन गरेको पाइएको छ । उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, चुरे गाउँपालिका–३ मा पर्ने भासुमा जिप र विद्युतीय गाडी ठोक्किदा थप एक जना घाइते भएका छन् । जोरायलबाट धनगढी तर्फ आइरहेको म १च ४०७ नम्बरको जीप र धनगढीबाट डडेल्धुरातर्फ गइरहेको सुपप्र०४ ००१ ज ००३४ नम्बरको विद्यु्तीय हाइस आपसमा ठोक्किदा हाइसमा सवारी चुरे–१ बस्ने २१ वर्षीय राकेश बिक घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते बिकको पद्यमा अस्पताल अत्तरियामा उपचार जारी छ । जिप चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ बस्ने ३२ वर्षीय सुप्रिम राना र हाइस चालक डडेल्धुरा गन्यापधुरा गाउँपालिका–१ बस्ने वर्ष २५ को दशरथ भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।