Skip to main content

सडक मानव ब्यवस्थापनका लागि मानवसेवा आश्रमले महायज्ञ गर्ने

Submitted by editor on
ईबिगुल संवाददाता
मानवसेवा आश्रम

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा निर्माण भईरहेको मानवसेवा आश्रमको भवनका लागि बृहत श्रीमद सप्ताह ज्ञानविज्ञान महायज्ञ हुने भएको छ । 
मानवसेवा आश्रम धनगढीले आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ२३ गते देखि २९ गतेसम्म धनगढीको खुलामञ्चमा बृहत श्रीमद सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना गरिने जनाएको छ । 

मानवसेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीको उपस्थिथिमा धनगढीस्थित मानव सेवा आश्रम परिषरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भवन निर्माणका लागि बृहत श्रीमद सप्ताह ज्ञानविज्ञान महायज्ञको आयोजना गरिएको जानकारी दिईएको हो ।
धनगढ उपमहानगरको १५ नम्बर वडामा २ विगाहाको क्षेत्रफलमा तीन चरणमा निर्माणको योaजाना बनाईएको छ । पहिलो चरणमा सडकमा रहेका मानवका लागि भवन निर्माण भइरहेको छ । त्यसमा अहिलेसम्म २ करोड लगानी भईसकेको र केही सडक मानवहरुलाई त्यहाँ राखिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । 

पहिलो चरणमा २ सय जना क्षमताको आश्रम निर्माण भईरहेको हो । त्योसँगै २ सय जना क्षमताको जेष्ठ नागरिक मनोमञ्जन क्षेत्रको पनि निर्माण गरिनेछ । आश्रमको बसले हरेक घरबाट जेष्ठ नागरिकलाई विहान १० बजे आश्रममा ल्याउने र ४ बजे घरमै छोडिदिने अवधारणको जेष्ठनागरिक मनोमञ्जन क्षेत्र निमाण गरिने संस्थापक अध्यक्ष अधिकारीले बताए । 

‘घरमा छोराबुहारी जागिरका कारण दिनभरी घरमा नहुने, जेष्ठ नागरिकले दिनभरी घरमा बस्दा तनावमा रहने भएकाले जेष्ठ नागरिक मनोमञ्जन क्षेत्र निर्माण गरिन लागेको हो । हरेक दिन जेष्ठ नागरिकलाई आश्रममा ल्याएर उनीहरुलाई मनोरञ्जनात्मक गतिविधिमा सहभागि गराउने योजना छ’ अध्यक्ष अधिकारीले भने ।

मानवसेवा आश्रमले तेस्रो चरणमा सोही स्थानमा मानव अध्ययन केन्द्र पनि निर्माणको योजना बनाएको छ । उक्त अध्ययन केन्द्रमा मानवको बारेमा अध्ययन हुने, संस्कारका बारेमा अध्ययन हुनेछ । तीन वटै परियोजनाका लागि ३७ करोडको लगानी अनुमान गरिएको मानवसेवा आश्रमले जनाएको छ । 

हेटौडामा केन्द्रिय कार्यालय रहेको मानवसेवा आश्रमले देशका विभिन्न १० स्थानमा आफ्नै आश्रम निर्माण गरि पूर्ण र आंशिक रुपमा सञ्चालनमा ल्याई सकेको छ । 

बृहत श्रीमद सप्ताह ज्ञानविज्ञान महायज्ञमा भागवत भाष्कर कमल नयन गौतमको प्रशिक्षण हुने, योग कक्षाहरु हुने, विद्यार्थीहरुका लागि दुब्र्यसनीबारे कक्षाहरु हुनेछन । महायज्ञमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ लगायतका कलाकारहरु पनि सहभागि हुनेछन ।