Skip to main content

सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक यस अधिवेशनमा पास नहुने

Submitted by editor on
प्रतिनिधि सभाको शिक्षा विज्ञान तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाले संसदको चालु अधिवेशनमा उक्त विधेयक पास हुन नसक्ने बताए ।
ईबिगुल संवाददाता
विश्वविद्यालय विधेयक

धनगढी : राष्ट्रिय सभाले पास गरेर २०८० सालको असोजमै प्रतिनिधि सभामा पठाएको सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदको चालु अधिवेशनमा पनि पास नहुने भएको छ ।

राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधि सभामा गएको विधेयक अहिले प्रतिनिधि सभाको शिक्षा विज्ञान तथासूचना प्रविधि समितिमा गएर अडकिएको छ । शिक्षा विज्ञान तथा सूचना प्रविधि समितिमा दफावार छलफलका लागि पठाइएको उक्त विधेयक छलफलका लागि प्रतिनिधि सभामा फर्केको छैन ।

प्रतिनिधि सभाको शिक्षा विज्ञान तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाले संसदको चालु अधिवेशनमा उक्त विधेयक पास हुन नसक्ने बताए । ‘विधेयक समितिमा आएको छ । त्यसमा १०३ जना माननीय ज्युहरुको संसोधन परेको छ । उनीहरुसँग सोधपुछ गर्नुप¥यो, छलफल गर्नुप¥यो, अनी मात्रै पो पास हुन्छ त’ सभापति थापाले भने ।

उनले हिउदे अधिवेशनमा उक्त विधेयक पास हुने दाबी गरे । ‘यो अधिवेशन दशैं अगाडि नै बन्द होला, यो अधिवेशनमा यत्तीका माननीय ज्यूसँग छलफल गरेर संसोधन गरेर प्रतिनिधि सभामा लगेर अझ छलफल गरेर पास हुनसक्ने समय नै छैन’ उनले भने ।

गेटामा मेडिकल विश्वविद्यालयको आन्दोलनका अगुवा तत्कालिन प्रदेश सभा सदस्य डाक्टर दिपक प्रसाद भट्ट भन्छन, ‘प्रतिनिधि सभामा गएको ८ महिनासम्म पनि विधेयकमाथि छलफल हुन सकेको छैन । समितिमा रहेको उक्त विधेयक, संसदको चालु अधिवेशनमै प्रतिनिधि सभामा छलफलका लागि पेश गरेर पास गरिनुपर्छ ।’

उनले सोमबार प्रतिनिधि सभाको शिक्षा विज्ञान तथा सूचना प्रविधि समितिका सभापति मोहन बहादुर थापालाई भेटेर विधेयक अगाडि बढाउन आग्रह गरिएको बताए । ‘सुदूरपश्चिमका बहालवाला माननीय र पूर्व माननीयहरुले सभापति थापालाई भेटेर विधेयक अगाडी बढाउन ध्यानाकर्षण गराएका छौं’ डाक्टर दिपक प्रसाद भट्टले भने ।