काठमाडौं : बाढी– पहिरोका कारण देशैभरका मुख्य राजमार्गहरू प्रभावित भएपछि सरकारले रात्रिकालीन हवाई उडान थालनी गर्ने भएको छ ।
घटस्थापनादेखि कोजगत पूर्णिमासम्म (असोज १७ देखि ३० गतेसम्म) लागू हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत रात्रिकालीन उडान हुने विमानस्थलहरूमा रात्रिकालीन उडान सञ्चालन गरिने भएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णीमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको जानकारी दिए । मन्त्री पाण्डेका अनुसार बिहान ४ः३० बजेदेखि राति अपरेशन समय आवश्यकता अनुसार थप हुनेगरी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
उनले भने, ‘बाढी– पहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न २०८१÷०६÷१७ (घटस्थापना) देखि २०८१÷०६÷३० (पुर्णिमा) सम्म त्रिअवि, गौतमबुद्ध, पोखरा अन्तराष्ट्रिय विमानस्थललगायत रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान ४ः३० बजेदेखि राति अपरेशन समय (आवश्यकता अनुसार थप हुने)सम्म नै सञ्चालनमा आउने व्यवस्था मिलाइएको छ ।’
यसअघि असोज १३ गते मन्त्री पाण्डेको निर्देशनमा वायुसेवा कम्पनीहरू तीन दिनका लागि मात्रै अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने सहमत भएका थिए ।
तीन दिनका लागि मात्रै अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने सहमत भएका वायुसेवा कम्पनीहरू मन्त्री पाण्डेको विशेष पहलमा सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन सहमत भएका छन् ।
विपद्का बेला महंगोमा हवाई टिकट बिक्री गरेको भन्दै चौतर्फी आलोचना भएपछि वायुसेवा कम्पनीहरूले तीन दिनलाई (अपर लिमिट) अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने सहमत भएका थिए ।
अविरल वर्षासँगे आएको बाढी –पहिरोले देशभरका अधिकांश सडक सञ्जाल र राजमार्गहरू अवरोध भएका छन्। अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि तत्काल संभव भने छैन ।