Skip to main content

काँग्रेसकै बहुमत रहेको बाजुराको खप्तड छेडेदहमा कार्यपालिका विरुद्ध काँग्रेसकै आन्दोलन

Submitted by editor on
पूर्व पालिका अध्यक्ष नरबहादुर रावत, काँग्रेस जिल्ला कार्यसमिति सदस्य कुम्भनाथ योगी, नेताहरु हर्क रावत, खडक बुढा, माओवादीका धनबहादुर रावत सहीतका नेताहरु आन्दोलनमा सहभागि छन् ।
ईबिगुल संवाददाता
नेपाली काँग्रेसका कार्यकर्ता आन्दोलनमा

बाजुरा : बाजराको खप्तड छेडेदह गाउँपालिकाले पारित गरेको बजेट विरुद्ध नेपाली काँग्रेसका कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् । बजेट संसोधन र परिमार्जनको माग सहीत नेपाली काँग्रेस खप्तड छेडेदह गाउँ कार्य समितिले आन्दोलन थालेको हो । करिब ४ करोड बढी रकम अनावश्यक शिर्षकमा विनियोजन गरेको र विकासका योजनामा बेवास्ता गरेको आरोप काँग्रेसको छ । 

खप्तड छेडेदह कार्यपालिकामा काँग्रेसको एकल बहुमत छ । काँग्रेसले विरोध थालेपछि आफू अनुकुल शिर्षकमा रकम विनियोजन नभएको आक्रोशमा आन्दोलन गरिएको आरोप लाग्न थालेको छ । बजेट पारित भएको तीन महिना पछि काँग्रेसले विरोध गरेको हो । 

सिंगो पालिकाले जनताको माग र समाजको आवश्यकता बेगर कार्यक्रममा बजेट विनियोजन गरेको र भौतिक पूर्वाधार विकासमा न्यून प्राथमिकता राखेकोले परिमार्जनको मागगर्दै आन्दोलन थालेको ५ नम्बर वडाका पूर्व अध्यक्ष समेत रहेका काँग्रेस नेता हर्क रावतले बताए ।
आन्दोलनको अगुवाई काँग्रेस गाउँकार्यसमिति सभापति हर्कबहादुर रावतले गरिरहेका छन् । बजेट संसोधनको माग सहीत ज्ञापन पत्र बुझाएपनि सुनुवाई नभएपछि विरोधका कार्यक्रम गर्नु परेको काँग्रेसले बताएको छ । 

पूर्व पालिका अध्यक्ष नरबहादुर रावत, काँग्रेस जिल्ला कार्यसमिति सदस्य कुम्भनाथ योगी, नेताहरु हर्क रावत, खडक बुढा, माओवादीका धनबहादुर रावत सहीतका नेताहरु आन्दोलनमा सहभागि छन् । 

काँग्रेसले अध्यक्ष उपाध्यक्षले आफ्नो नाममा अनावश्यक बजेट छुट्याएको र सस्तो लोकप्रीयता देखाउन खोजेको आरोप लगाएको छ । करिब आधा करोड बजेट अध्यक्ष उपाध्यक्षले नै आफ्नै नामको कार्यक्रम बनाएर छुट्याएकोमा काँग्रेसले आपत्ती छ । ६० लाख रकम छुट्याएर डोजर किन्ने, कर्मचारी र जनप्रतिनिधी भ्रमणकै नाममा ४० लाख बढी बजेट छुट्याउने, एउटै वडामा ३० लाखको मन्दिर निर्माणका लागि बजेट छुट्याउने कुरा संसोधन गरिनु पर्ने माग काँग्रेसको छ । 

पालिकाले भने आवश्यकताको आधारमा र जनताकै पक्षमा काम गर्न सर्वसम्मत बजेट विनियोजन गरेको बताएको छ । रातो किताब ढिलागरि प्रकाशन गरिएको, प्रकाशन पछि पनि लुकाएर राखेको र कार्यपालिका बैठकको निर्णय बेगर योजना समावेश गरिएको दाबी काँग्रेसको छ । तर डोजर लगायतका कुरा आफ्ना कार्यकर्ता काम विहिन हुने र चाहेको काम नपाउने भएपछि विरोध गरिएको काँग्रेस कार्यकर्तामाथि नै आरोप छ । 

७ वटा वडा मध्ये ५ वडा अध्यक्ष र उपाध्यक्ष नेपाली काँग्रेसले जितेको छ । कार्यपालिका सदस्य पनि सिंगो काँग्रेसबाटै निर्वाचित छन् । बजेपछि सर्वसम्मत पारित गरिएको हो । तर बजेट पारितको तीन महिनापछि भने स्वयम काँग्रेसकै कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन ।

गाउँपालिका अध्यक्ष र २ जना वडाअध्यक्ष नेकपा एमालेबाट प्रतिनिधीत्व गर्छन् । तीन जनाले बहुमत कार्यपालिका भित्र कुनै प्रभावी भूमिमा निर्वाचित भएदेखि खेल्न सकेको देखिदैन् । आफै निर्णय गर्ने, सहमति सहीत पारित गर्ने र अन्तिममा आन्तरिक स्वार्थ मिल्ने योजना नसमेटिएको देखेपछि विरोध गरेको आरोप काँग्रेस कार्यकर्ता माथि छ । 

काँग्रेसबाट जितेकी उपाध्यक्ष बिशुदेवी नाथले भने आफूलाई आन्दोलन बारे जानकारी नभएको बताएकी छन् । ‘ज्ञापन पत्र बुझाएको विषय बारे भने जानकारी छ । त्यो बाहेक थाहा छैन्’ उनले भनिन ।

गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले भने कार्यपालिका भित्र सहमति गरिएको र सर्वसम्मत निर्णय भएको कुरालाई तीन महिना पछि आएर योजना समावेश नगरिएको बेमौसमी बाजा बजाउनुको कुनै नैतिकता नहुने बताएका छन् । पालिका भित्र पार्टीगत असमझदारी र प्रमुख प्रशासकीय अधिकृत अनुकुल नभएको विषयमा लामो समय देखि विवाद हुदै आएको छ ।