Skip to main content

उपनिर्वाचन, कैलाली जिल्ला समन्वय समितिमा सत्तागठबन्धनबीच तालमेल हुने सम्भावना

Submitted by editor on
शिवराज भट्ट
केशवराज पन्त

धनगढी : सुदूरपश्चिममा जनप्रतिनिधि रिक्त भएका ६ पदका लागि दलहरु उमेदवार छनौटमा लागेका छन । केही दलहरुले उमेदवारको टुंगो लगाईसकेका छन भने केही दलहरु उमेदवार छनौटमा ब्यस्त छन ।

सुदूरपश्चिममा कैलाली जिल्ला समुन्वय समिति संयोजक र बाजुराको स्वामीकार्तिक खापर गाउपालिकामा उपाध्यक्ष पद रिक्त छन । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६, डोटीको पूर्वीचौकी गाउँपालिका–६, बझाङको सुर्मा गाउपालिका–४ र दार्चुलाको दुहु गाउँपालिका–५ मा वडाध्यक्ष पद रिक्त छन ।

कैलाली जिल्ला समुन्वय समितिका संयोजक पदमबहादुर कलेलको मृत्यु भएको थियो । कलेल काँग्रेसबाट निर्वाचित भएका थिए । यस्तै बाजुराको स्वामीकात्तिकखापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको पनि निधन भएको थियो । जोशी पनि नेपाली काँग्रेसबाट विजयी हुन ।

डोटीको पूर्वीचौकी–६ र कञ्चनपुरको भीमदत्त–६ मा पनि कांग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन भएको थियो । बझाङको सुर्मा–४ र दार्चुलाको दुहु–५ मा नेकपा (एमाले)बाट निर्वाचित वडा अध्यक्षको निधन भएको थियो । उपनिर्वाचनका लागि कात्तिक २० गते सम्बन्धित पालिका तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भईसकेका छन । 

रिक्त रहेको कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा सत्ता गठबन्धनबीच तालमेल हुने सम्भावना देखिएको छ । नेकपा एमालेले नेपाली कांग्रेसलाई सघाउने बारे छलफल भईरहेको छ । तर नेकपा एमालेका प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले समन्वय समितिमा सघाएबाफत काँग्रेसले अरु जिल्लामा कसरी तालमेल गर्ने बारे भने कुरा हुन नसकेको बताए । 

काँग्रेसले धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट वडासदस्यमा विजयी केशवराज पन्तलाई उमेदवार बनाउने तयारी गरेको कांग्रेस प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले बताए । स्वामीकात्तिकखापर गाउँपालिका उपाध्यक्षका लागि काँग्रेसले कुन्तिसरा शाही र एमालेले शुलोचना कुमारी भण्डारीलाई उमेदवार बनाएको छ । 

रिक्त भीमदत्त–६ को वडाध्यक्षमा एमालेबाट बहादुर चन्द र काँग्रेसबाट प्रकाशबहादुर चन्द चुनाव लडने भएका छन । प्रकाश, बहादुरका आफ्नै सहोदर भतिजा हुन ।

काँग्रेसले डोटीको पूर्वीचौकी–६ मा मोहन थापालाई प्रत्यासी बनाउने निर्णय गरेको छ भने एमालेले देब बहादुर थापालाई उमेदवार बनाएको छ । बझाङको सुर्मा ४ मा भने उमेदवारको टुंगो लागिसकेको छैन ।