Skip to main content

जिल्लाबासीसँग खुशी साट्न नपाउदै अस्ताए सिंह

Submitted by editor on
प्रताप ओली
आन्तरिक मामिला तथा कानुन मन्त्री

बझाङ ः सुदुरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भइसकेपछि पृथ्वीबहादुर सिंह पहिलो पटक डडेल्धुरामा कार्यक्रम सकेर खुशी साट्न गृह जिल्ला बझाङ आईरहेका थिए । सोमबार प्रदेश राजधानी धनगढीबाट ४ जना परिवारका सदस्यसहित १६ जनाको टोली डडेल्धुरा पुगेको थियो । 


डडेल्धुरामा मन्त्री सिंहले विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम सकेर होटेल राइनोमा बास बसेका थिए । मंगलबार बिहानै डडेल्धुरास्थित प्रसिद्ध उग्रतारा मन्दिरको दर्शन गर्न बिहान ६ बजे सबै जना त्यहाँ पुगेका थिए । उग्रताराको दर्शन पश्चात करिब ७ बजे खाना खाइसकेपछि मन्त्री सिंहको गाडी अघि अघि बाँकी गाडी पछाडी हुँदै बझाङका लागि हिडेको जयपृथ्वी नगरपालिका ५ का राजेन्द्र थापाले बताए ।


मंगलबार दिउँसो ठिक १२ बजे बझाङ प्रवेश भएका मन्त्री सिंहको गाडी १ः३० बजे बाग्थला बजार पुगेको थियो । केदारस्युँ गाउँपालिका ४ बाग्थलाबाट १५ मिनेट अगाडी बढेको जीप कालंगा खोला किनार धारछडी भन्ने स्थानमा दुर्घटनाग्रस्त भयो । जीपमा रहेका कानुन मन्त्री पृथ्वीबहादुर सिंह, उनकी धर्मपत्नी अमृतादेवी सिंह, भाउजु जयदेवी सिंह, चालक धर्मराज जोशी र मन्त्री सिंहका सुरक्षागार्ड दीपक भण्डारी सबै गम्भीर घाइते बनेका थिए । 


गम्भीर घाइते उनीहरुलाई हतार हतार केदारस्युँ गाउँपालिकाको देउरास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्र र ऋतु पोलिक्लिनिक लगिएको थियो । उपचारकै क्रममा डाक्टरले मन्त्री सिंहकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजु जयदेवी सिंहको मृत्यु भएको पुष्टि गरे । ऋतु पोलिक्लिनिकमै छँदा मन्त्री सिंहको नाबीको चाल र मुटुको धड्कनले काम गर्न छोडिसकेको त्यहाँ कार्यरत चिकित्सक सर्जन सुवेदीले बताए । 


सुर्खेतबाट आएको हेलिकप्टरले मन्त्री सिंहसहित चालक जोशी र अंगरक्षक भण्डारीलाई ४ः५८ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पु¥याएको थियो । त्यहाँ प्राध्यापक डाक्टर ढुण्डी राज पौडल नेतृत्वको टोलीले मन्त्री सिंहलाई बचाउन हर प्रयास गर्दा पनि नाबीको चाल र मुटुको धड्कनले काम गरेको नपाइएपछि वेलुका ५ः३३ बजे मृत घोषण गरेको थियो । 


दुर्घटनामा घाइते भएका मन्त्रीका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्थामा पनि गम्भिर रहेको अस्पतालले जनाएको छ ।


मन्त्री भइसकेपछि पहिलो पटक खुशी साट्न बझाङ
जेठ ६ गते सुदुरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री भएका पृथ्वीबहादुर सिंह मंगलबार धेरै कार्यक्रम तालिका बनाएर खुशी साट्न बझाङ आउँदै थिए । उनले बझाङमा रहँदा असार ६ गते ढँडार मष्टा मन्दिर दर्शन तथा भेटघाट गरेर एलइओसी कार्यक्रम उद्घाटनसहित बझाङका कार्यालय प्रमुखलाई निर्देशन दिएर ७ गते धनगढी फिर्ता हुने कार्य तालिका थियो । 


तर उनले सदरमुकाम चैनपुर पुग्न नपाइ ४० किलोमिटर टाढाबाट अस्ताउनु प¥यो । सिंह प्रदेश सरकारमा बझाङबाट मन्त्री बन्ने पहिलो व्यक्ती हुन् । ५५ वर्षको उमेर भएको  उनको निधनले सिंगो बझाङ स्तब्ध बनेको छ । ४ मंसिरमा भएको प्रदेशसभा चुनावमा उनी बझाङ–१ बाट सुदूरपश्मिम प्रदेशसभामा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनी १२ वर्षसम्म नेपाली कांग्रेस बझाङको जिल्ला समिति सभापति रहेका थिए ।