Skip to main content

अबदेखि धनगढीको कैलाली अस्पतालमा किमो थेरापी हुने

Submitted by editor on
ईबिगुल संवाददाता
कैलाली अस्पताल

धनगढी : धनगढीको कैलाली अस्पतालमा प्रत्येक शनिवार क्यान्सर पीडितको उपचार हुने भएको छ । कैलाली अस्पतालले प्रत्येक शनिवार क्यान्सर रोग सम्बन्धी स्क्रीनिङ तथा किमो सेवा सुरु गरेको हो । 

कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले सुदूरपश्चिमका क्यान्सर पीडितहरुलाई प्रत्येक शनिवार उपचार तथा किमो सेवा दिने बताए । काठमाडौँको वीर अस्पतालका डाक्टर सौगात पौडेल र डाक्टर अन्जु केसीले क्यान्सर पीडितहरुलाई उपचार सेवा दिने भएका हुन । 

क्यान्सर रोग सम्बन्धी स्क्रीनिङ, किमो सेवा, प्रोष्टेट क्यान्सर, ब्रेष्ट क्यान्सर, पेटको क्यान्सर, फोक्सोको क्यान्सर र अन्य क्यान्सरका सेवाहरु कैलाली अस्पतालबाटै दिन थालिएको पौडेलले बताए । उनी प्रत्येक शनिवार काठमाडौँबाट धनगढी क्यान्सर पीडितको उपचारका लागि आउने भएका हुन ।

कैलाली अस्पतालले न्यून आय भएका सुदुरपश्चिमबासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै धनगढीमै स्क्रीनिङ तथा किमो सेवा थालेको हो । अस्पतालका सञ्चालक जोशीले किमो राख्नकै लागि चितवन तथा काठमाण्डौँमा महिनौँ दिन बस्नुपर्ने तथा हरेक महिना धाइरहनुपर्ने बाध्यताको अन्त्य गर्न धनगढीमै सेवा सुरु गरेको बताए । काठमाण्डौँकै शुल्कमा कैलाली अस्पतालले क्यान्सरको स्क्रीनिङ तथा किमो सेवा दिने भएको हो ।

धनगढी उपमहानगरपालिका–१ जिल्ला प्रशासन कार्यालय अगाडी रहेको कैलाली अस्पतालले विषेशज्ञसहितको स्वास्थ्य उपचार सेवा दिने गरेको छ ।