Skip to main content

बझाङ दुर्घटनाको छानविन समिति गठन, १५ दिनभीत्र प्रतिवेदन आउने

Submitted by editor on
ईबिगुल संवाददाता
मन्त्री पृथ्बी बहादुर सिंहको सवारी दुर्घटना

धनगढी ः सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्बी बहादुर सिंहको सवारी दुर्घटनामा मत्यु भएपछि त्यसको अनुसन्धानका लागि छानविन गठन गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको  प्रस्तावमा विहीबारको मन्त्रीपरिषदको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव गंगाबहादुर खरेलको अध्यक्षतामा ७ सदस्यीय छानविन समिति गठन गरेको हो । 


छानविन समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक (नेपाल प्रहरी), बैद्यानाथ बाहिनिबाट सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रशासन हेर्ने उपसचिव नवराज ओझा, मुख्य न्यायाधीवक्ताको कार्यालयका उप न्यायाधीवक्ता टेक बहादुर थापा र यातायात ब्यवस्था कार्यालय सेतीका मेकानिकल ईन्जिनियर सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत विष्णुदत्त अवस्थीलाई सदस्य सचिव तोकिएको छ ।


मन्त्रीपरिषदले समितिलाई कार्यादेश आफै बनाएर १५ दिनभीत्र छानबिन प्रतिवेदन पेश गर्न निर्देशन गरेको छ । ‘आन्तरिक मामिला तथा कानून मन्त्रीको सवारी दुर्घटना सार्वजनिक महत्वको विषय भएकाले सो विषयका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउनुपर्ने भएकाले अनुसन्धान आवश्यक छ’ मुख्यमन्त्री कमल बहादुर शाहले भने । 


१५ दिनभीत्र छानविन समितिले प्रतिवेदन तयार पार्न नसके मुख्यमन्त्रीले त्यसको समय थप गर्नसक्ने प्रावधान राखिएको छ । मंगलबार बझाङको केदारस्युँ गाउपालिका वडा नम्बर १ जुवालीखेत भन्ने स्थानमा सवारी दुर्घटनामा परि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह, उनकी श्रीमती अमृता सिंह र  भाउजु जयदेवी सिंहको मृत्यु भएको थियो । मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीको घाईते भएका छन । उनी दुबै जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।


मन्त्री सिंह सवार सुपप्र ०१ ००१ झ ४८० नम्बरको फर्चुनर गाडि अत्याधुनीक गाडि हो । आन्तरिक मामिला मन्त्रालयले मन्त्री पुर्णा जोशीका पालामा त्यो गाडि भिआईपीका लागि मात्रै प्रयोग गर्ने भनेर खरिद गरेको थियो । तर त्यसपछि भएका आन्तरिक मामिला मन्त्री डाक्टर रण बहादुर रावलले त्यो गाडी चढ्न थालेपछि सिंहले पनि त्यही गाडी प्रयोग गर्दै आएका थिए ।