धनगढी : सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर जीवन राना नियुक्त भएकी छिन् । प्रदेश मन्त्रिपरिषद् बैठकले रानालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
उनी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले रानालाई उपाध्यक्षमा नियुक्त गरेको हो । सदस्यमा भने डाक्टर हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त भएका छन् । तीनै जनाको आजै सपथ ग्रहण भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–८ की रानाले विद्यावारिधि गरेकी छिन् । उनले नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि गरेकी हुन् । उनले ‘सोसियो कल्चरल लाइफ अफ रानाथारू’ विषयमा विद्यावारिधी गरेकी हुन ।
नेपाली काँग्रेसको राजनीतिमा पनि क्रियाशील राना विभिन्न सामाजिक संस्थामा पनि आबद्ध छिन् । काँग्रेसकी केन्द्रीय सदस्य रहेकी उनी बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग प्रमुख पनि हुन् ।
राजनीतिशास्त्रमा विद्यावारिधी गरेका चन्द सदस्य नियुक्त
सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिका–१० निवासी डा. हिरा चन्दलाई प्रदेश नीति तथा योजना आयोगको सदस्य पदमा नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले चन्दलाई सदस्य पदमा नियुक्त गरेको हो ।
भारत उत्तराखण्डको कुमाउँ विश्व विद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधी (पिएचडी) गरेका चन्दलाई नेकपा (एमाले) को सिफारिसमा सदस्य पदमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
भीमदत्त नगरपालिका–१० गड्डाचौकीस्थित डायमण्ड पब्लिक एकेडेमीमा बिगत २९ वर्षदेखि संस्थापक प्रधानाध्यापक रहेका चन्दले ५ वटा विषयमा स्नातकोत्तर गरेका छन् । समाजशास्त्र, शिक्षाशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्रका साथै योग विज्ञानमा पनि स्नात्तकोत्तर गरेका चन्दलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबारै आयोजित एक समारोहमा योजना आयोगको उपाध्यक्ष नियुक्त भएकी जीवन रानाले पद तथा गोपनियताको शपथ दिलाएका छन् ।
प्रदेश नीति तथा योजना आयोगको सदस्य पदमा नियुक्त भएपछि चन्दले छोटो प्रतिक्रिया दिदै भने, ‘सरकारले दिएको जिम्मेवारीलाई आफ्नो बुद्धि, बिवेक र बर्कतले भ्याएसम्म कुशलतापूर्वक निर्वाह गर्ने छु । हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सुखी नेपाली समृद्ध नेपाल’ को अवधारणा अन्तर्गत सुदूरपश्चिमको विकास र समृद्धिको आयामलाई नयाँ ढंगले अगाडी बढाउने छु ।’
यसै गरी सदस्यमा डडेल्धुराका काँग्रेस नेता शेर बहादुर भन्डारी पनि नियुक्त भएका छन ।