Skip to main content

कृष्णपुर नगरपालिका : जसले स्वास्थ्यचौकी पनि चौबिसै घण्टा चलाउछ

Submitted by editor on
स्वास्थ्यको क्षेत्रमा कृष्णपुरले ‘नागरिकसँग मेयर’ कार्यक्रम सञ्चालन गरेर पनि चर्चा बटुलेको छ । फागुनबाट नगरपालिकाले ८ वटा स्वास्थ्यकर्मी नियुक्त गरेर, तीनका ४ टोली बनाएर घर घरमा चेकजाँच कार्यक्रम गरेको छ ।
शिवराज भट्ट
कृष्णपुर नगरपालिका

धनगढी : सरकारले हरेक स्थानीय तहमा बनाउने भनिएका १५ शैयाका अधिकांस अस्पताल पनि चौबिसै घण्टा सेवा दिन सकिरहेका छैनन । तर जग्गा अभावका कारण १५ शैयाको अस्पताल बनाउन नसकेपनि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले भने स्वास्थ्य चौकीलाई नै चौबिसै घण्टा सेवा दिने बनाएको छ ।

कृष्णपुर नगरपालिकाले एकजना मेडिकल अफिसर राखेर स्वास्थ्यचौकीबाट चौबिसै घण्टा सेवा दिन थालेको हो । ‘स्थानीय अस्पतालका लागि बजेट आउने गरेपनि जग्गाको टुंगो नलागेका कारण बनाउन सकिएको छैन । तर स्वास्थ्यचौकीलाई नै अत्याधुनीक बनाएर चौविसै घण्टा सञ्चालन गर्ने बनाएका छौं’ मेयर हेमराज ओझाले भने ।

उनले कृष्णपुर नगरपालिकामा बढीजसो राजमार्ग क्षेत्र पर्ने भएकाले दुर्घटना हुने, तुरुन्तै प्रार्थमिक उपचार गरेर ठुलो अस्पताल पठाउनेपर्ने घटना बढन थालेपछि चौबिसै घण्टा सेवा दिन सुरु गरेको बताए । ‘३४ किलोमिटर राष्टिय राजमार्ग पर्छ, घटना दुर्घटना भईरहन्छन, त्यसैले मेडिकल अफिसर सहितको चौबिस घण्टे सेवा दिएका छौं’ उनले भने ।

स्वास्थ्यको क्षेत्रमा कृष्णपुरले ‘नागरिकसँग मेयर’ कार्यक्रम सञ्चालन गरेर पनि चर्चा बटुलेको छ । फागुनबाट नगरपालिकाले ८ वटा स्वास्थ्यकर्मी नियुक्त गरेर, तीनका ४ टोली बनाएर घर घरमा चेकजाँच कार्यक्रम गरेको छ । 

स्वास्थ्यकर्मीहरुले नगर क्षेत्रभीत्रका सबै घरधुरीमा पुगेर त्यहाँ रहेका दीर्घरोगि, खोपको अवस्था, गर्भवती महिलाको चेकजाँच, सुगर, प्रेसर, पिसाबमा प्रोटिन जाने समस्याको चेकजाँच गरेका थिए । १९ हजार ६४९ महिला र १२ हजार ९०६ पुरुष गरी कुल ३२ हजार ५५५ जनाको उपचार गरेको नगरपालिकाले जनाएको छ ।

‘गाउँमा नसर्ने तर दीर्घ रोगीहरु अस्पताल आउन मान्दैन्न । उनीहरुले नियमीत औषधी सेवन गरे नगरेको कुरा गरिन्छ । उनीहरुलाई अस्पताल आउन जान एम्बुलेन्स निशुल्क छ भन्ने पनि थाहा छैन, त्यसका लागि प्रचार प्रसार पनि हुन्छ । हामीले हरेक नागरिकलाई एम्बुलेन्स सेवा निशुल्क गरेका छौं’ मेयर हेमराज ओझाले भने ।

अस्पताल सम्म जान नसक्ने जेष्ठनागरिक र बालवालिकाका लागि नागरिक सँग मेयर कार्यक्रम प्रभावकारी देखिएको छ । घरदैलोमै आएर स्वास्थ्य चेकजाँच हुन थालेपछि स्थानीयले पनि नगरपालिकाको यस कार्यक्रमको सराहना गरेका छन । ‘मलाई स्वासप्रस्वासको विराम छ । पहिला निमोनिया भएको हो । अहिले आयुर्वेदिक औषधी खान्थे । पालिकाका स्वास्थ्यकर्मीहरुले दिएको अर्को निशुल्क औषधीले निको भएको छ’ कृष्णपुर नगरपालिका ५ का मान बहादुर लुहारले बताए । 

महिलाहरुमा रोग लुकाउने र अस्पताल जान नमान्ने समस्या पुरुषको तुलनामा बढी हुन्छ । त्यसैमा जेष्ठ नागरिक भई सकेका महिलाहरु त घरमै रोग पालेर बसिरहेका हुन्छन । नागरिकसँग मेयर कार्यक्रमले पुरै उपचार गाउँमा नगरेपनि, दीर्घ रोग र गम्भिर विरामीहरुलाई आफ्नै एम्बुलेन्स पठाएर पनि स्वास्थ्य चौकी ल्याउने गरेपछि जेष्ठ नागरिक भएका महिलाहरु पनि खुसी भएका छन । 

‘हामीहरुलाई एम्बुलेन्स सेवा निशुल्क हो भन्ने थाहा थिएन । घरमा आएका स्वास्थ्यकर्मीहरुले बताएपछि अहिले अस्पताल जान र आउन एम्बुलेन्स बोलाउने गरेका छौं । औषधी निशुल्क छ, घरमा पनि ल्याई दिन्छन, बढी भयो भने अस्पताल पनि जाने गरेको छु’ स्थानीय हिरा देबी लुहारले भनिन ।

कृष्णपुर नगरपालिकासँग ४ वटा एम्बुलेन्स छन । जग्गाको टुंगो नलागेका कारण नगरपालिकाले १५ शैयाको अस्पताल भने बनाउन सकेको छैन । तर स्वास्थ्य चौकीलाई नै नगरपालिकाले अस्पतालको भन्दा पनि बढी सेवा सुविधा दिने गरी २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिममा मेडिकल अफिसर सहित २४ सै घण्टा स्वास्थ्यचौकी चलाउने उ मात्र पहिलो नगरपालिका हो । 

स्वास्थ्य चौकीमा निशुल्क रुपमा आयुर्वेदिक औषधी पनि पाईन्छ भने रेविजको सुई पनि निशुल्क लगाईन्छ । सर्पदंशका विरामी बढन थालेपछि नगरपालिकाले २ शैयाको आईसीयु सहितको सर्पदंश उपचार केन्द्र पनि निर्माण गरिरहेको छ । अबको २ महिनाभीभ सर्पदंश उपचार केन्द्र सञ्चालनको तयारी रहेको छ’ मेयर ओझाले भने ।