धनगढीः कैलालीमा एक वर्षमा विभिन्न हिंसाबाट ३६४ जना पीडित भएका छन् ।
इन्सेक सुदूरपश्चिमले गत वर्षको पुस १५ गतेदेखि यो वर्षको पुस १५ सम्म तयार गरेको तथ्याङ्कमा कैलालीमा घरेलु हिंसा, बलात्कार र यौन दुव्र्यवहारका घटना सबैभन्दा बढी घटेको पाइएको हो । कैलालीमा गैरराज्य पक्षबाट २९७ जना पीडित भएका छन् । गत वर्ष बलात्कार तथा यौनजन्य हिंसाबाट ५० जना महिला पीडित भएको इन्सेकले तयार गरेको तथ्याङ्कले देखाएको छ ।
कैलाली जिल्लामा एक वर्षमा ३६४ वटा मानवअधिकार उल्लंघनका घटना घटेका हुन् । इन्सेक सुदूरपश्चिमले जिल्लामा एक वर्षमा २९७ महिला, ४६ बालिका र १६ जना पुरुष पीडित भएको अभिलेख तयार गरेको छ । इन्सेकले राज्यपक्षबाट हुने मानवअधिकार उल्लंघनका घटनामा कमि आए पनि गैरराज्यबाट हुने घटनामा कमि नआएको जनाएको छ ।
एक वर्षमा कैलालीमा गैरराज्यबाट पीडित भएका २९७ जना महिला मध्ये २२६ जना घरेलु हिंसाबाट पीडित भएको इन्सेकले जनाएको छ । यस्तै, बलात्कार तथा बलात्कार प्रयासबाट ५० जना महिला पीडित भएको इन्सेकको अभिलेख छ । इन्सेकले गैरराज्यबाट आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारबाट चार जना पीडित भएको जनाएको छ ।
कैलालीमा जातीय विभेदबाट गत वर्ष दुई जना पीडित भएको इन्सेकले जनाएको छ । यसैगरी, नागरिक तथा राजनीतिक अधिकारबाट १५ जना पीडित भएकामा पाँच जना राज्यबाट पीडित भएको इन्सेकले जनाएको छ । एक वर्षको अवधिमा कैलालीमा बलात्कार, बलात्कारको प्रयास, यौनदुव्र्यवहार, अमानवीय व्यवहार, बहुविवाह र हत्या घटनाका ३४ जना आरोपित धरौटीमा छुटेको इन्सेकले जनाएको छ । एक वर्षमा बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहार घटनाका आरोपित ६ जनालाई सफाइ दिइएको छ भने बलात्कार घटनामा कसुर ठहर गरी चार जनालाई कैद सजायको फैसला भएको इन्सेकले जनाएको छ ।
k