Skip to main content

अत्तरियामा महोत्सव लगाउन व्यवसायीहरुको दबाब

Submitted by editor on
ईबिगुल संवाददाता
अत्तरिया महोत्सव

धनगढी: कैलालीको अत्तरियामा महोत्सव लगाउन व्यवसायीहरुले  दबाब बढाउन थालेका छन् ।

आर्थिक गतिविधि सुस्त देखिएका बेला गरीखाने साना व्यवसायीहरुले महोत्सव लगाउन नेतृत्वलाई दबाब दिन थालेका हुन् । अत्तरिया उद्योग वाणिज्य संघले गत वर्षहरुजस्तै यस वर्ष पनि महोत्सव लगाएर यहाँको व्यापार व्यवसाय चलायमान बनाउन भूमिका खेल्नुपर्ने साना व्यापारीहरुको माग छ । राजनीतिक स्वार्थमा लागेर महोत्सवलाई स्थगित गर्न नहुने स्थानीय विनोदराज जोशीले बताए ।

अत्तरिया क्षेत्रको व्यापार व्यवसायलाई चलायमान बनाउन महोत्सव सहयोगीसावित हुनेमा केही व्यक्ति विशेष र रानीतिक आग्रह–पूर्वाग्रह राखेर निजी क्षेत्रको व्यवसायीक पर्व महोत्वसलाई तुहाउने खेल गर्न नहुँने उनको सुझाव छ । साथै उद्योग वाणिज्य संघबाट राजीनामा दिएर बाहिर निस्केकाहरुले महोत्सव लगाउने विषयमा विरोध गर्ने अधिकार नभएको समेत कतिपयको तर्क छ । यसैबिच अत्तरिया उद्योग वाणिज्य संघले  ६ जना सदस्यलाई कार्यसमितिमा मनोनीत समेत गरेको छ ।

अध्यक्ष कल्याणसिंह बोहराले ६ जना सदस्य कार्यसमितिमा मनोनीत गरेका हुन्। सदस्यमा मनोनीत हुनेमा भवानीदत्त भट्ट, दिर्घराज भट्ट, सूर्यप्रसाद गौतम, इन्द्रप्रसाद गौतम, छत्र विश्वकर्मा र जानकी जेठारा रहेका छन् । पौष २८ गते मनोनीत गरिएका उनीहरूको २९ गते शपथ ग्रहण गरिएको हो। मनोनीत भएका सदस्यहरूलाई अध्यक्ष बोहराले नै शपथ ग्रहण गराएका हुन् । जतिसक्दो चाडो अत्तरियामा विगतका वर्षहरु झै यस वर्ष पनि महोत्सवको आयोजना गर्न व्यवसायीहरुले सुझाउ दिँदै आएको अध्यक्ष बोहराले बताए ।
अध्यक्ष बोहराका अनुसार यसअघि ११ जनाले राजीनामा दिएपछि संघको विधान २०७१ को परिच्छेद ४ को दफा १४ को बुँदा नम्बर ५ अनुसार रिक्त रहेका सदस्यको पदमा मनोनीत गरिएको हो । पदाधिकारीको हकमा भने विधान बमोजिम नै निर्वाचन हुने उनले बताए । उनले जिल्ला प्रशासन कार्यालयसँगको छलफलपछि उक्त निर्णय गरिएको बताए । सदस्यहरूको मनोनीतका विषयमा विधानको प्रतिकुल नहुने गरी कामकारबाही गर्न जिल्ला प्रशासन कार्यालयले पनि आदेश दिएको उनले बताए ।

उनले संस्थालाई अघि बढाउन समितिलाई पूर्णता दिनुको विकल्प नरहेकाले कानुनी सल्लाहकारसँगको निरन्तर परामर्शमा नै सदस्यहरू मनोनीत गरिएको बताए। अत्तरिया उद्योग वाणिज्य संघका केही वर्तमान र पूर्व सल्लाहकार, समाजसेवी, उद्योगी व्यवसायी र विशेष गरी साना व्यवसायीहरुले महोत्सवको आयोजना गरेर आर्थिक गतिविधि चलायमान बनाउन आग्रह गर्दै आएका छन्। महोत्सवलाई राजनीति गर्ने भाँडो बनाउनेहरुलाई पहिचान गरेर सोहीअनुसारको व्यवहार गर्नुपर्ने पनि कतिपयको तर्क छ।