Skip to main content

माघ १९ गते देखि अर्जुन ट्रफि राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना हुने

Submitted by editor on
ईबिगुल संवाददाता
अर्जुन ट्रफि राष्ट्रिय क्रिकेट प्रतियोगिता

धनगढी : यही माघ १९ गते देखि कैलालीको फाप्ला क्रिकेट मैदानमा अर्जुन ट्रफि राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । धनगढीको क्रिकेटमा लामो समय काम गरेका प्रशिक्षक स्वर्गिय अर्नुन खडकाको स्मृतीमा अर्जुन ट्रफिको आयोजना गर्न लागिएको हो ।

विहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ट्रफि अनावरण गरे । धनगढी क्रिकेट एकेडेमीको मैदानमा आयाजना ट्रफि अनावरण गर्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिमको क्रिकेटले विश्वमा मुलुकलाई चिनाउने प्रयास गरेको बताए । 

उनले लामोसमय क्रिकेटमा बिताएका स्वर्गिय अर्जुन खडकाको स्मरण गर्दै उनको स्मृतीमा गरिएको प्रतियोयिता आयोजकलाई धन्यबाद दिए । मुख्यमन्त्री शाहले सुदूरपश्चिमका खेलाडीहरुका कारण राष्ट्रिय टीमले विश्वमा किर्तिमान राखिरहेको बताउदै क्रिकेट विकासका लागि प्रदेश सरकारले जस्तोसुकै पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको ९० प्रतिसत तयारी पुरा भईसकेको छ । प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौं, फेन्ड्स स्पोर्टस क्लब डडेल्धुरा, घोडाघोडी–११ सुखड, न्यू होराईजन बुटबल, दसरथ चन्द एकेडेमी बैतडी र बोष्टन क्रिकेट झापा गरी ८ वटा टीमको सहभागिता रहने आयोजक गो ड्रिमर्स प्रालिका अध्यक्ष शुवास बहादुर शाहीले जानकारी दिए ।

टीममा ४ जना सम्म राष्ट्रिय टोलीका खेलाडीहरु पनि राख्न पाउने प्रावधान राखिएको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार पाउनेछ ।