Skip to main content

सरकार मेडिकल माफियाको चंगुलमा फसेको एमालेको आरोप

Submitted by editor on
शिवराज भट्ट
सरकार मेडिकल माफियाको चंगुलमा फसेको एमालेको आरोप

धनगढी ः नेकपा एमालका सचिव लेखराज भट्टले बर्तमान सरकार मेडिकल माफियाको चंगुलमा फसेर गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्न नसकिरहेको आरोप लगाएका छन । प्रेस चौतारी नेपाल कैलालीले अत्तरियामा गरेको पत्रकार सम्मेलनमा सचिव भट्टले यस्तो आरोप लगाएका हुन । 


‘गेटा मेडिकल विश्वविद्यालय सञ्चालनका लागि सरकारले हातगोडा कमाई रहेको छ । अहिलेको सरकार मेडिकल माफियाको चंगुलमा फसेकले नै उसले निर्णय लिन सकेको छैन’ नेकपा एमालेका सचिव लेखराज भट्टले भने । उनले, अर्थमन्त्री डाक्टर प्रकाश सरण महतले संसदमा दिएको जवाफबाट यसको पुष्टि भएको बताए ।


‘नीति तथा कार्यक्रममा राष्ट्रपतिले मेडिकल विश्वविद्यालय भन्नुभयो । विधेयक पनि यही अधिवेशनमा पास हुने भन्नुभयो तर अर्थमन्त्रीले बजेट बक्तब्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्नुभयो । पछि अर्थमन्त्रीबाट त्यो के हो त ? भनेर जवाफ मागियो । मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य विज्ञान विश्वविद्यालय एउटै÷एउटै कुरा त हो भनेर उनले दिएको जवाफले पनि के प्रष्ट हुन्छ भने या त अर्थमत्रीलाई यस बीचको अन्तर थाहा छैन, या त अर्थमन्त्री कतै जोडिनु भएको छ भन्ने कुरा पुष्टि हुन्छ’ भट्टले भने ।


यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले २०७९ माघको २९ गतेको मन्त्रीपरिषदबाट मेडिकल विश्वविद्यालय नै हुने निर्णय गराएका थिए । त्यो निर्णयपछि कञ्चनपुर महोत्सवको उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले सुदूरपश्चिमलाई अहिलेसम्मको क्षतीपूर्ती स्वरुप मेडिकल विश्वविद्यालय दिने पनि मञ्चबाटै बोलेका थिए । 


‘अहिले क्याबिनेटको निर्णय कसैले काटन सक्दैन भन्ने आम बुझाई छ, तर संसदमा बजेट जस्ताको तस्तै पारित भयो भने गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान नै पारित भएर आउछ । संसद भन्दा क्याबिनेट ठुलो होईन’ सचिव भट्टले भने । ‘क्याबिनेटको निर्णय ठुलो होईन, बजेटमा सच्चिनुपर्छ ।’

नेकपा एमालेका केन्द्रिय सचिव भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी र प्रदेश संसदीय दलका नेता राजेन्द्र सिह रावलले निर्माणस्थलको निरिक्षण पनि गरेका थिए । निर्माण स्थलको अवस्था देखेर नेकपा एमालेका प्रदेश अध्यक्ष तथा संघीय सांसद दामोदर भण्डारीले आफु क्याबिनेटमा भएका बेला मेडिक विश्वविद्यालयको निर्णय भएको तर बजेटमा विगारेर ल्याएको आरोप लगाए ।


‘कैलाली ४ का सांसद विरबहादुर बलायरले गेटामा विश्वविद्यालय आवश्यक छैन भनेर सदनमा बोल्नुभयो, उहाँकै पार्टीका कैलाली जिल्ला अध्यक्ष नारायण दत्त भट्टले एउटा टिभिमा अन्तर्वाता दिदै मेडिकल विश्वविद्यालय हुनै सक्दैन भन्नुभयो, भनेपछि मेडिकल विश्वविद्यालयको विरोधी को रहेछ ? जनताले बुझ्न आवश्यक छ’ संघीय सांसद समेत रहेका भण्डारीले भने ।


उनले, अहिले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठान र शिक्षा मन्त्रालयले मेडिकल विश्वविद्यालय भन्दै दुई वटा विधेयक उत्पत्ती गरेको बताए । ‘दुबै विधेयक अर्थमन्त्रालयमा श्रोत सुनिश्चितताका लागि बसेका छन । एमाले ‘वेट एण्ड सी’ को रणनीतिमा छ । यदी यही सदनबाट मेडिकल विश्वविद्यालयको विधेयक पास भएन र अरु विधेयकहरु ल्याउने प्रयास भयो भने एमाले चुप लागेर बस्दैन’ सांसद भण्डारीले भने ।


कैलालीको गेटामा साढे ५ अर्वका पुर्वाधार निर्माण भईसकेका छन । ती पुर्वाधारमा मेडिकल विश्वद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल कलेज, के सञ्चालन हुने भन्ने कुरा अन्यौलमा परेको छ । सरकारले नीति तथा कार्यक्रममा मेडिकल विश्वविद्यालय र बजेट बक्तब्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भने द्विविधायुक्त कुरा गरेपछि, यस पुर्वाधारमा के भन्ने अन्यौलता छाएको हो । 


गेटामा ६ सय शैयाको अस्पताल सञ्चालन गर्ने संरचना निर्माण भईसकेका छन भने कलेज भवनको निर्माण पनि सकिएको छ । चिकित्सक आवाश, छात्रबास भवनहरु, प्रशाशनीक भवनहरु निर्माणको अन्तिम चरणमा छन । खानेपानी, विद्युतको शवस्टेशन र फोहरमैला ब्यवस्थापनको काम भईरहेको छ । 


तर अब सरकारले विधेयक ल्याएर बजेट छुट्याउने वित्तिकै यसलाई सञ्चलानमा ल्याउन सकिन्छ । पुर्वाधार बनिरहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का सांसद विरबहादुर बलायरले सदनमा दिएको अभिब्यक्ति र उनकै कैलाली पार्टी सभापती नारायण दत्त भट्टले दिएको एउटा टिभि अन्तवार्ताले काँग्रेस मेडिक विश्वविद्यायको पक्षमा नरहेको भने प्रष्ट हुन्छ ।


नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र सिह रावल पनि प्रदेश बजेटका कारण सदनमा आफुहरु चुप्प लागेको तर प्रतिनिधि सभाको चालु अधिवेशनले विश्वविद्याययको विधेयक पारित नगरे एमामाले सडक र सदन हल्लाउने बताउछन । ‘पुर्वाधारहरु गाईभैसीका गोठ जस्ता भएका छन । गाईभैसीको गोबरले परिषर फोहर भएको छ । भवनका वरिपरि झाडिहरु उम्रिन थालेका छन । यस्तो अवस्थामा विधेयक ल्याएर सञ्चालन गर्न नसक्ने सरकार निकम्मा हो’ उनले भने ।