धनगढी : धनगढी उपमहानगरपालिकाले कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डाक्टर हेमराज पन्तको नागरिक अभिनन्दन गरेको छ । धनगढी उपमहानगरपालिकाले प्राध्यापक डाक्टर पन्तलाई आज बिहान ८ बजे नागरिक अभिनन्दन गरेको हो ।
शिक्षा क्षेत्रमा पन्तले पुगाएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको नगर प्रमुख गोपाल हमालले बताए । धनगढी उपमहानगरपालिकाको संयोजनमा पन्तलाई आज धनगढीको ट्राफिक चौराहाबाट बाजागाजा सहित गाडीमा राखेर पार्कमोडमा आयोजित एक कार्यक्रमका बिच अभिनन्दन गरिएको छ ।
नगरप्रमुख गोपाल हमालले माला, खादा र सम्मानपत्र सहित पन्तलाई अभिनन्दन गरे । नगरप्रमुख हमालले शिक्षाविद् हमालले २०३७ सालदेखि हालसम्म धनगढीलाई कर्मथलो बनाएर सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गरिएको बताए ।
धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापन सुरु गराएर शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पन्तलाई अभिनन्दन गरिएको हो । पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली क्याम्पसमा पढाउन थालेका थिए । पन्तले मासिक एक हजार रुपैयाँमा आइकमका विद्यार्थीहरूलाई पढाउन थालेका हुन् ।
१४५ विद्यार्थीबाट सुरु गरिएको कैलाली वाणिज्य क्याम्पसको नाम २०३८ सालमा कैलाली बहुमुखी क्याम्पस राखिएको थियो । भारतबाट विद्यावारिधि गरेका पन्त २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त भएका थिए । प्राध्यापक पन्तले २०६६ सालसम्म कैलाली बहुमुखी क्याम्पसको प्रमुख पदरमा रहेर काम गरेका छन् ।
डोटीको शिखर नगरपालिका–९ उच्चाकोट (सिद्धेश्वर गाउँ पञ्चायत) मा २०११ साल फागुन २१ गते जन्मिएका पन्तले धनगढीलाई नै जीवनभरी कर्मथलो बनाए । सुदूरपश्चिमको शैक्षिक धरोहर कैलाली बहुमुखी क्याम्पसले हालसम्म हजारौँ विद्यार्थीलाई शैक्षिक योग्यता, जीवनोपयोगी सिप र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने शिक्षा दिएको छ । डाक्टर पन्तका बुवा खगेन्द्र नाथ पन्त आयुर्वेदाचार्य थिए ।
हेमराज जन्मिएको वर्ष उनका बुवा डोटी सिलगढीमा आयुर्वेद औषधालयका प्रमुख थिए । बुवाको सरुवा डडेल्धुरा भएपछि पन्तको प्रारम्भिक शिक्षा त्यही भएको थियो । उनले ८ कक्षासम्मको पढाइ उच्चाकोटकै सीताराम माविबाट पूरा गरेका थिए । दरवार हाइस्कुलबाट २०२८ सालमा एसएलसी पास परेका पन्तले त्रिचन्द्र कलेजबाट २०३१ सालमा आइकम गरे । उनले शंकरदेव क्याम्पसबाट विकम गरे । २०३७ सालमा त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तरको पढाइ पूरा गरे ।
२०३१ सालमा १९ वर्षको उमेरमा सरस्वती ओझासँग वैवाहिक बन्धनमा बाँधिएका उनका दुई छोरा र एक छोरी छन् । २०६८ सालमा महेन्द्रनगरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको स्थापना भयो । उनी त्यसको रजिस्ट्रार नियुक्त भएका थिए । चार वर्षे कार्यकाल पुरा गरेपछि २०७२ सालमा त्यहाँबाट बिदा भए । र, फर्केर फेरि कैलाली बहुमुखी क्याम्पसमा पढाउन थाले । २०७४ सालमा उनी सेवानिवृत्त भए ।