Skip to main content

प्रहरीले चलाएको गोली लागेर कर्णालीका युवकको मृत्यु, सुदूरपश्चिमका युवक गम्भीर

Submitted by editor on
ईबिगुल संवाददाता
यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी

धनगढी : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी पछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । 


गोली लागेर घाइते भएका दैलेखका सुजन राउतको उपचारका क्रममा किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । राउत दैलेख महावु –६ का स्थानीय हुन्। 


अर्का एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा डोटीका वीरेन्द्र शाह रहेका छ । अन्य आधा दर्जन बढी पनि घाइते भएको प्रहरी प्रवक्ता कुवेर सिंह कडायतले जानकारी दिएका छन ।  उनीहरूको पाटन र किष्ट अस्पतालमा उपचार भइरहेको छ।


प्रहरीले स्थिति सामान्य बनाउन केही सेल अश्रुग्यास र गोली प्रहार गरेको थियो। शु्क्रबार अपरान्ह मन्त्री ज्वाला सवार गाडीमा कोरियन भाषा परीक्षाको विषयलाई लिएर विरोध प्रदर्शमा उत्रिएका युवाहरूले आगजनी गरेका थिए । आगजनीका कारण मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडी पूर्णरुपमा नष्ट भएको छ ।


प्रदर्शनकारीहरूले केहि सार्वजनिक सवारी साधनमा समेत तोडफोड गरेका छन् । गाडीमा आगजनी गर्ने केहि प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो।


प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले केहिबेर अश्रुग्यास र हवाई फायर गरेको थियो । विभिन्न माग राख्दै केहिदिन यता इपिएस कार्यालयमा युवाहरुले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।