Skip to main content

क्रिकेटर लामिछाने दोषी ठहर, पुस २५ मा सजाय तोकिने

Submitted by editor on
एजेन्सीको सहयोगमा
एजेन्सीको सहयोगमा

काठमाडौं  ः नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने दोषी ठहर भएका छन तर उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ ।

पीडितले आफूलाई करणी भएको बताएको र सन्दीपको घटना हुँदाको दिनको क्रियाकलप विचार गर्दा करणी भएको देखिएको अदालतको ठहर छ ।

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।  न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको युवतीको उजुरी थियो ।

त्यो बेला विदेशमा रहेका उनलाई २० असोजमा नेपाल फर्किएकै दिन विमानस्थलमै पक्राउ गरिएको थियो ।

अनुसन्धान प्रक्रिया पुरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बलात्कारको मुद्दा चलायो, जसमा जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठायो ।

त्यसविरुद्ध सन्दीप उच्च अदालतमा गए । २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी छुटेका थिए ।