Skip to main content

बालकुमारीमा मारिएका आफन्तद्वारा सुर्खेतमा प्रदर्शन, गोली हान्ने आदेश दिनेलाई कारवाही माग

Submitted by editor on
ऐजेन्सीहरुको सहयोगमा
सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलन

सुर्खेत :  ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलन चर्किएको छ । 


वीरेन्द्रनगरमा प्रदर्शनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन । आइतबार सुर्खेतमा पुनः आन्दोलन चर्काएर वीरेन्द्रनगरको मुख्य राजमार्ग मंगलगढी चोकदेखि यरीचोकसम्मको सडक ठप्प पारेका हुन् ।  


रत्न राजमार्गअन्तर्गत एरिचोक–मंगलगढी चोकको अवस्था तनावग्रस्त छ । जहाँ कुनै पनि सवारीसाधन चल्न पाएका छैनन् । प्रदर्शनकारीले सडक छोपेर विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले मृतक युवाहरूलाई सहिद घोषणाको माग गरेका छन् । त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालन पालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने उनीहरूको माग छ।

प्रदर्शनकारीले गोली हान्न आदेश दिने ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहलाई निलम्बन गर्न समेत माग गरेको छ ।  प्रदर्शनमा विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा मृतकका आफन्तहरू सहभागी छन् । 


वैदेशिक रोजगार विभागअन्तर्गतको इपीएस कोरिया शाखाको एउटा हचुवा निर्णयका कारण शुक्रबार दुई युवकको ज्यान गएको थियो । मंसिर १९ गतेदेखि आन्दोलनरत युवामध्ये १८ जनालाई मात्रै आवेदन भर्न इपीएस शाखाले बिहीबार आह्वान गरेपछि अन्य युवाहरू भड्किए पछि तनाव सुरु भएको थियो ।