बाजुरा : बाजुरामा जिउँदै गाईलाई ढुंगाले हान्दै नदीमा बगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जिल्लाको जगनाथ गाउँपालिका ६ काप्रेमा नदीमा बगाइँदै गरेको गाइको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो।
गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो कर्णाली नदीको किनारमा दुई दर्जनजति मान्छे भेला भएका छन् । उनीहरूले एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेट्छन् । गाई नदीमा जान डराउँछ । त्यो अबोध प्राणी सकीनसकी किनारमा निस्कने यत्न गर्छन् । यद्यपि त्यहाँ भेला भएका गाईलाई ढुंगा, डोरी र लौरोले यति धेरै पिट्छन् कि त्यसको पीडा सहन नसकी गाई नदीमा पुग्छ ।
गाई फेरि किनारमा फर्कन्छ । यद्यपि उनीहरूले गाईलाई यत्तिकै छाड्दैनन् । फेरि अर्को ठाउँमा लगेर बलजफ्ती नदीतर्फ लखेट्छन् । गाई पानीमा जान डराउँछ । तब पछाडि बसेका व्यक्तिहरूले ढुंगाले हान्दै लखेट्छन् । गाई नदीको बेगसँगै बग्न थाल्छ। नदीमा डुब्दै गरेको गाई पटक(पटक किनारतर्फ फर्कन खोज्छ । तर, युवाहरूले निरन्तर ढुंगा बर्साइरहन्छन् । त्यो अवोध र निरीह प्राणी ढुंगाको चोट सहँदै नदीमा तैरिन खोज्छ।
शनिवार स्थानीय पत्रकार धनबहादुर बीसीले यो उच्छृंखल र अत्यासलाग्दो दृश्य भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् । बीसीका अनुसार स्थानीय साउने सार्की नामक व्यक्ति मृत्यु भएपछि दाहसंस्कार लागि मलामी गएका व्यक्तिले गाईलाई नदीमा बगाएका थिए ।‘गाउँमा कसैको मृत्यु भएपछि नदीमा डुबाएर गौदान दिए पापमुक्त हुनेुु अन्धविश्वास छ परम्पराको आवरणमा बाजुरामा पहिलेदेखि यस्तै हुँदै आएको उनले बताए ।