Skip to main content

हर्मोन, नाक, कान, घाँटी र मानसिक रोग सम्बन्धी विशेषज्ञ सेवा धनगढीको नवजीवन अस्पतालमा सुरु

Submitted by editor on
ईबिगुल संवाददाता
nav jeeban

धनगढी : धनगढीको नवजीवन अस्पतालले तीन वटा नयाँ विशेषज्ञ सेवा सुरु गरेको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पताल प्रशासनले हर्मोनसम्बन्धी रोग (एन्डोक्राइनोलोजिष्ट), कान, नाक र घाँटीसम्बन्धी रोग (ईएनटी) तथा मानसिक रोग (मनोचिकित्सा)सम्बन्धी विशेषज्ञ सेवाको सुरुवात गरिएको जानकारी दिएको छ ।

अस्पतालले एन्डोक्राइनोलोजिष्ट सेवा अन्तर्गत डा. कृष्ण ऐरीमार्फत हर्मोनसम्बन्धी विभिन्न समस्याहरूको पहिचान, परीक्षण तथा उपचार सेवा प्रदान गर्ने जनाएको छ ।

डा. ऐरीले थाइराइड, पिट्युटरी, एड्रिनल, प्यान्क्रियाज जस्ता ग्रन्थीहरूबाट उत्पन्न हुने रोगहरूको निदान र व्यवस्थापन गर्नेछन् । हर्मोन असन्तुलनका कारण देखा पर्ने समस्या, मधुमेह, थाइराइडको गडबडी, यौन हर्मोनसम्बन्धी समस्या लगायतको उपचार सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ।

त्यसैगरी, अस्पतालले डा. इन्द्र उपाध्यायको नेतृत्वमा कान, नाक र घाँटीसम्बन्धी (ईएनटी) विशेषज्ञ सेवा पनि सुरु गरेको छ। यस सेवाअन्तर्गत सामान्यदेखि जटिल खालका कानका समस्या, नाकको संक्रमण तथा घाँटीको संक्रमण लगायत रोगको उपचार गरिनेछ। अस्पतालले औषधि, परीक्षण र सुनाइ परीक्षणमार्फत रोगको पहिचान र उपचार गरिने जनाएको छ।

यसबाहेक अस्पतालले मानसिक स्वास्थ्य सेवा पनि विस्तार गरेको छ। डा. अनुप देवकोटाको नेतृत्वमा सञ्चालन हुने मनोचिकित्सा सेवा अन्तर्गत मानसिक रोगको औषधीय उपचार, मनोवैज्ञानिक परामर्श, आपतकालीन सेवा तथा मानसिक समस्याको समग्र उपचार प्रक्रिया अघि बढाइने छ। मानसिक तनाव, डिप्रेसन, चिन्ता, निन्द्रासम्बन्धी समस्या, व्यसन मुक्ति लगायतका विषयमा सेवा प्रदान गरिनेछ।

नवजीवन अस्पतालका प्रबन्ध निर्देशक चक्र कडायतले विशेषज्ञ सेवा सुरु गर्दै सस्तो, गुणस्तरीय र सुलभ दरमा नयाँ सेवा विस्तार गरिएको जानकारी दिए । उनले विगतमा जस्तै अन्य विशेषज्ञ सेवाहरू पनि अस्पतालले निरन्तरता दिँदै आएको र आगामी दिनमा थप सेवा विस्तार गरिने जानकारी दिए ।

“हामी स्थानीय जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विशेषज्ञ सेवा विस्तार गरेका छौं। सेवा लिन आउने सबै बिरामीले गुणस्तरीय सेवा पाउनेछन्,“ उनले भने, “अस्पतालप्रति विश्वास राख्न अनुरोध छ।“

नवजीवन अस्पतालले पछिल्लो समय स्त्री तथा प्रसूति, बाल रोग, जेनरल फिजिसियन, दन्त सेवा लगायतका क्षेत्रमा समेत सेवा दिदै आएको छ । अब हर्मोन, इएनटी र मनोचिकित्सा सेवा थपिएसँगै अस्पतालले बहुविध विशेषज्ञ सेवा एकै छानामुनि उपलब्ध गराएको छ ।