धनगढी : आफुलाई दलित अभियन्ता भनेर चिनाउने खगेन्द्र सुनारले सुदूरपश्चिमका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र बहादुर पाल लक्षित स्टाटस कपोकल्पीत र झुठो भएको सचिवालयले जनाएको छ ।
पालका स्वकीय सचिव रमेश बोहराले विहीबार विज्ञप्ती जारी गर्दै आफूलाई दलित अभियान्ताका रुपमा चिनाउने खगेन्द्र सुनारले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एवम् बैतडी जिल्ला, प्रदेश निर्वाचन क्षेत्र (क) बाट निर्वाचित प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर पालका बारेमा भ्रम फैलाउने स्टाट्स लेखेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
फेसबुकमा सुनारले मन्त्री पालले बैतडीमा एक दलित बालकलाई गाडीले किचेर मारेको तथा मृतककी आमालाई बलात्कारको धम्की दिएको संगीन आरोप लगाएका थिए । हिँड्ने साइतमा दलितले बाटो काटेको निहुमा पालले गाडिले किचेर हत्या गरेको उनले स्टाटसमा लेखेका छन ।
उनले लखेका छन्, ‘सुदूरपश्चिमका भौतिक मन्त्री सुरेन्द्र बहादुर पालले हिँड्ने साइतमा दलितले बाटो काटेको भन्दै गाडीले किचेर बैतडीमा एक दलित बच्चा किरण कोलीको हत्या गरेको छ । मन्त्रीको गाडी छोएको भन्दै ड्राइभरले हकारेर लखेटेका थिए’, उनले लेखेका छन्, ‘भाग्दै गरेको बच्चालाई यो डुमलाई ठोक भन्दै रक्सीले मातेका मन्त्रीले गाडी हाँकेर किचेका थिए । गाडी छोराले चलाएको थियो । हत्या सार्वजनिक गरे बलात्कार गरेर मार्ने पीडित एकल महिलालाई धम्की दिएका छन् । घटना मिलाउन ५ लाख पीडितको खातामा जबर्जस्ति हालिदिएका छन् । प्रहरीले मुद्दा लिन मानेको छैन ।
मन्त्री पालको नाम जोडेर झुटो कुरा गरिएको भन्दै सचिवालयले उक्त स्टाट्सको खण्डन समेत गरेको छ । ‘बर्गलाई अधिकार र जातीलाई सम्मान गर्ने पार्टी नेकपा (एमाले) को मूल ध्येयलाई आत्मसात गर्ने पार्टीको जिल्ला अध्यक्ष भएर विगत लामो समय देखि राजनीतिक र सामाजिक क्षेत्रमा कार्यरत रहेको परिप्रेक्षमा यस्ता भ्रामक, तथ्यहीन र कपोलकल्पित स्टाट्स लेखेर मन्त्री ज्यूको चरित्रहत्या गर्ने कार्यको घोर भत्र्सना गर्दछौं । एउटा जिम्मेवार प्रदेश सरकारको मन्त्री र राजनीतिक व्यक्तित्व माथि भएको यो कुकृत्यको घोर निन्दा गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।
सामाजिक तथा जातिय सद्भावलाई खल्बल्याउने उद्धेश्यले यस्ता आधारहीन आरोप लगाइएको ठहर सचिवालयले गरेको छ । सुनारका विरुद्ध नेपाल प्रहरीको साइबर सेलमा उजुरी दर्ता गरी कानूनी प्रक्रियामा अघि बढने जानकारी गराइएको छ ।
दलित अभियन्ताका रुपमा चिनिने खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालमाथि लगाएको आरोप प्रहरीले पनि निराधार भएको जनाएको छ ।
‘डिलासैनी गाउँपालिका–३ का १३ वर्षीय किरण कोली साउन १७ गते डिन्नीगाडमा बालुवा संकलन गर्ने क्रममा विद्युत् पोलबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए । उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा उनको मृत्यु भएको हो । कानूनी प्रक्रिया पूरा भएपछि मृतकका बाजेले १८ साउनमा शव बुझेका थिए’, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रकाश रानाभाट भने, ‘अहिले आएको जस्तो उनलाई हत्या गरिएको भन्ने होइन ।’