काठमाडौं:नेपाल सुनचाँदी व्यवसायी सङ्घले सुनचाँदी तथा गहना व्यवसाय सङ्कटमा पर्दै गइरहेको भन्दै तत्काल नीति सुधारको माग गरेको छ । सङ्घले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै हालको OGL (Open General License) प्रणाली व्यवसायमैत्री नभएको भन्दै पुनरावलोकन गर्न आग्रह गरेको हो ।
सङ्घका अध्यक्ष महेन्द्र रत्न शाक्यले वर्तमान नीति र नियमनले सुनचाँदी व्यवसाय धराशायी बनिरहेको बताए । विगत चालीस वर्षदेखि चलिरहेको OGL प्रणालीले व्यवसायमा अनिश्चितता र अस्थिरता निम्त्याएको बताए ।
सुनचाँदी व्यवसायसँग प्रत्यक्ष/परोक्ष रूपमा लाखौँ नेपाली नागरिकको रोजगारी जोडिएको भन्दै सङ्घले यसको संरक्षणका लागि सरकार गम्भीर हुनुपर्ने माग गरेको छ । सङ्घले हाल सुनचाँदीको आपूर्तिका सन्दर्भमा देखिएको समस्याको मुख्य कारण नीतिगत अस्पष्टता, सीमित व्यवसायीलाई मात्र आपूर्तिको अधिकार र मूल्य निर्धारणमा अन्यौलता रहेको दाबी गरेको छ । सङ्घले OGL प्रणाली पुनरावलोकन गरी प्रतिस्पर्धात्मक र पारदर्शी बनाउनुपर्ने, सुनचाँदीको आपूर्ति र मूल्य निर्धारणमा स्पष्ट र दीर्घकालीन नीति बनाउनुपर्ने, हातले बनाइने गहनालाई प्रवर्द्धन गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नुपर्ने, सुनचाँदी रत्नको मूल्य ह्रास सम्बन्धी स्पष्ट कर नीति ल्याउनुपर्ने, सुनचाँदी व्यवसायमा संलग्न युवालाई प्रोत्साहन दिने वातावरण तयार गर्नुपर्नेमा जोड दिएको छ ।
सङ्घले नेपाल राष्ट्र बैङ्क, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राजश्व विभाग तथा नेपाल सुनचाँदी व्यवसायी परिषद्को समन्वयमा विशेष समिति गठन गरी दीर्घकालीन रणनीति तय गर्नुपर्ने माग अघि सारेको छ ।

व्यवसायीहरूले सुदूरपश्चिम, कर्णाली, मधेसलगायत विभिन्न प्रदेशमा सुनचाँदीको आपूर्ति नहुनु, बजारमा तस्करीको सुनको प्रवेश तथा नियमावलीको अस्पष्टताले व्यवसाय चौपट हुने बताएका छन् । सङ्घले सुनको तस्करी रोक्न र तस्करीमा संलग्नलाई कारबाहीको गरेको छ ।
व्यवसायी तेज रत्न शाक्यले समयमै समस्याको समाधान नभए देशभरका सुनचाँदी पसलहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरे । हाल दैनिक २० के.जी.सुनको बिक्री वितरण गरिनु बजार मागका आधारमा पर्याप्त नभएको उनको भनाई छ । अर्का व्यवसायी मणि रत्न शाक्यले ४० वर्ष देखी नीतिमा खासै परिवर्तन नआउनुले व्यवसाय सङ्कटमा पर्दै गएको बताए । उनले खुल्ला बजार अर्थतन्त्रमा अन्य सामग्रीको बिक्री वितरणको नीति परिवर्तन भइरहँदा सुनचाँदीको व्यवसायका लागी समेत नीतिगत सुधार तथा पुनरावलोकन हुनुपर्ने आफूहरूको माग रहेको बताए ।
मन्त्रालयले सुनचाँदी व्यवसायी र उपभोक्ता दुवैको हितमा हुने गरी नीतिगत सुधारको तयारी गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका स्वकीय सचिव आनन्द भट्टले बताए । उनले सुनचाँदी व्यवसायीहरूका सबै सङ्गठनहरूको कुरा सुनेर सबैको धारणाहरूको आधारमा उपयुक्त निर्णय गर्ने मन्त्रालयको तयारी रहेको बताए ।