Skip to main content

भारतीय विदेश मन्त्री नेपालमा, विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने

Submitted by editor on
ऐजेन्सीहरुको सहयोगमा
एस. जयशंकर

काठमाडौं : भारतीय विदेश मन्त्री एस. जयशंकर नेपाल आएका छन । उनले सन् २०२४ को पहिलो भ्रमण नेपालबाट गरेका हुन । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विहीकार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै विदेशमन्त्री जयशंकरले गरेका ट्वीटमा लेखेका छन, ‘सन् २०२४ को मेरो पहिलो भ्रमणको रुपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु, आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि उत्साहित छु ।’


विदेशमन्त्री जयशंकरले विहीबार नै उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । सबैभन्दा पहिला उनले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नेछन ।  राष्ट्रपतिसँगको भेटवार्तापश्चात मध्यान्ह १२ बजे पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भेटघाट गर्ने कार्यतालिका छ । 


दिउँसो १ बजे जयशंकर होटल याक एण्ड यतिमा आयोजना हुने  नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतको तर्फबाट विदेशमन्त्री जयशंकरले नेतृत्व गर्नेछन् ।


बैठकपश्चात नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुनेछ । त्यसपश्चात विदेशमन्त्री जयशंकरले कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटघाट गर्ने कार्यतालिका रहेको छ ।


विदेशमन्त्री जयशंकर शुक्रबार शुक्रबार बिहान ८ बजे पशुपतिनाथ मन्दिरमा पूजा गर्ने र मध्यान्ह १२ बजे भारत फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।