धनगढी :नेपालमा हरेक बोलपत्र खरिद ऐन अनुसार हुनुपर्ने प्रावधान छ । खरिद ऐनको दफा ३ (क) मा प्याकेजिङ तथा समूह विभाजन सम्बन्धी ब्यवस्था गरिएको छ ।
दफा ३ (क) को उपदफा २ मा ‘सार्वजनिक निकायले खरिदलाई बढि सुविधाजनक समूहमा विभाजन गर्ने वा प्याकेजमा समावेश गर्ने गरी तयार गर्दा अलग अलग रुपमा सम्पन्न गर्न सकिने प्रकृतीको निर्माण कार्यका लागि अधिकतम प्रतिस्पर्धा हुने हदसम्म छुट्टाछुट्टै रुपमा बोलपत्र आह्वान गनुपर्ने छ’ उल्लेख छ ।
तर गेटा अस्पतालको अधिकांस बोलपत्रमा एकजना आपुर्तीकर्ताले मात्रै आपुर्ती गर्ने उपकरणको प्याकेजमा अरु अधिकतम प्रतिस्पर्धामा आउन सक्ने सामानहरु पनि समावेश गरि अनियमितता गरिएको छ । यहाँ सम्मकी कम्पनीको मोडेल नम्बर सहित स्पेसिफिकेशनमा राखिएको छ ।
खरिद ऐनकै दफा ३ (क) को उपदफा ३ मा त एक अर्कासँग अन्तर सम्बन्धित नभएका उपकरण एकै प्याकेजमा नराख्ने स्पष्ट ब्यवस्था छ । उक्त उपदफामा भनिएको छ, ‘एक आपसमा अन्तर सम्बन्धित भई एउटै प्याकेज सञ्चालन गर्नुपर्ने भएमा बाहेक प्रतिस्पर्धालाई संकुचित र सिमित गर्ने गरी ठुला ठुला प्याकेज बनाई बोलपत्र आह्वान गर्नु हुदैन ।’
तर गेटा अस्पतालका अधिकांस उपकरण खरिदका बोलपत्रहरुमा ठुला ठुला उपकरणहरु एक अर्कासँग अन्तर सम्बन्धित नै नभएका राखिएका छन । ‘यसरी बोलपत्र कुनै एक जनालाई पार्ने प्रयास गर्नु भनेको चरम भ्रष्टाचार हो । यसमा अख्तियार र सम्बन्धित निकायको ध्यान जाओस’ मेडिकल विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले भने ।
खरिद ऐनको मात्रै होईन, गेटा अस्पतालले प्रकासित गरेका बोलपत्रहरु अहिलेको संसोधित भ्रष्टचार ऐन विपरित पनि छन । भ्रष्टाचार निवारण ऐनले प्रतिस्पर्धालाई सिमित वा कमजोर बनाउन खरिदको सर्त वा मापदण्ड निर्धारण गर्ने, टुक्राउने वा प्याकेजिङ गर्ने गराउनेलाई ३ वर्षसम्म कैद र जरिवाना समेत हुने प्रावधान गरेको छ ।