Skip to main content

नौ वर्षमा ४४ किलोमिटर कालोपत्र कञ्चनपुरको हुलाकी राजमार्ग

Submitted by editor on
ईबिगुल संवाददाता
हुलाकी राजमार्ग

कञ्चनपुर : हुलाकी राजमार्गको काम अन्तिम चरणमा पुगेको छ। कञ्चनपुरको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको ६२ किलोमिटर सडक तीन खण्डमा निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो।

केही भागमा विवादका कारण निर्माण ढिलाइ भएपनि ४४ किलोमिटर सडक कालोपत्र भएको छ। हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका प्रमुख मुकुन्द लामिछानेले राजमार्गको तीन वटा खण्ड मध्ये एउटा खण्ड निर्माण सम्पन्न भएको बताए। पहिलो खण्डमा मर्मत र रङ्गरोगनको काम मात्र बाँकी छ। अन्य दुई खण्डको कालोपत्रेको काम पनि अन्तिम चरणमा छ। ‘बेलौरीको कलकत्तामा केही विवादका कारणले दोस्रो खण्डको ८८ मिटर सडक निर्माण हुन सकेको छैन।’ उनले भने’ ‘उक्त ठाउँमा विवाद भइराख्ने भएकाले निर्माण कम्पनीले काम गर्न सक्ने अवस्था छैन।’ बाइस किलोमिटरको तेस्रो खण्डमा ११ किलोमिटर कालोपत्रेको काम बाँकी छ।

डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेजको २० किलोमिटर ३६ करोड ४७ लाखमा निर्माणभएको हो। बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो खण्ड २० किलोमिटर प्याकेजको लागत ४१ करोड ४१ लाख छ। हुलाकी सडकको तेस्रो खण्ड बेल्डाडीदेखी दैजीसम्म २२ किलोमिटर छ।दक्षिणी क्षेत्रका नागरिकले कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आवतजावत गर्न भारतीय बाटो भएर धनगढी हुँदै आउनुपर्ने बाध्यता थियो। सरकारले डोकेबजारदेखी बेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माण गरेपछि भने यहाँका नागरिकलाई राहत मिलेको छ। कञ्चनपुरको दक्षिणी क्षेत्रमा पुनर्वास र बेलौरी नगरपालिका लालझाडी र बेल्डाडी गाउँपालिका गरि चार पालिका छन। चार वटै पालिकाको दक्षिणतर्फ भारतीय खुल्ला सिमानाका छ। अर्कोतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कारण यहाँका नागरिकको सहज पहुँच महेन्द्रनगरसम्म थिएन।

२०६२/६३ सम्म पनि यातायातको असुविधाका कारण यहाँका नागरिकहरू पैदलमार्ग भएर महेन्द्रनगर सदरमुकाम आवतजावत गर्थे। ‘वर्षातको समयमा यातायात सेवा बन्द हुँदा बेदकोटको दैजीदेखी बेल्डाडीसम्म पैदल आवतजावत गर्नुपर्ने बाध्यता थियो ।” यहाँका स्थानीय सन्तोष विष्टले भने, ‘त्यो बेलाको पैदल मार्ग पछि हुलाकी राजमार्गमा परिणत भएको हो।’

सडक सञ्जालको विस्तार गरी आर्थिक–सामाजिक विकास, व्यापार सहजीकरण मार्फत आर्थिक समृद्धि हासिल गर्ने योजना अनुसार सरकारले हुलाकी राजमार्ग निर्माण गरेपछि यसले आर्थिक एवं सामाजिक परिवर्तन ल्याएको शिक्षक केवश विष्ट बताउँछन। ‘महेन्द्रनगर आवतजावत गर्न भारतको बाटो भएर जानुपथ्र्यो।’ उनले भने–‘हुलाकी राजमार्ग बनेपछि यहाँका नागरिकलाई धेरै राहत भएको छ।’ उनले हुलाकी राजमार्ग सञ्चालनमा आएपनि यहाँको आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण टेवा पुगेको बताए। ‘अहिले यहाँका किसानहरूले आफ्नो उत्पादन सहज रूपमा बिक्री गर्न पाएका छन बिहानै धनगढी बजारबाट दुध किन्न गाडी आउँछ।’ उनले भने, ‘स्वास्थ्य र शिक्षामा समेत सहज पहुँच भएको छ। हुलाकी राजमार्ग भएर एक घन्टामा धनगढी पुग्न सकिन्छ,यो राजमार्ग यहाँको लागि ‘लाइफ लाइन’ नै हो।’ उनले हुलाकी राजमार्ग बनेपछि यहाँका कृषि उत्पादनले बजार पाएको छ। सडक सञ्जालको पहुँचले यहाँका नागरिकहरूलाई धेरै सहज भएको छ।

हुलाकी राजमार्ग निर्माण पछि यहाँको जग्गाको मूल्य वृद्धि भएको यहाँका स्थानीय बताउँछन। यहाँका स्थानीय सुरत मल्लका अनुसार हुलाकी सडक बन्नुपूर्व यहाँका कठ्ठाको चार/पाँच लाख रुपियाँमा खरिद बिक्री हुन्थ्यो। राजमार्ग बनेपछि २० लाखसम्ममा बिक्री हुने गरेको छ। ‘त्यो बेला त धेरै दुःख पाएका हौ हामीले यहाँ अहिले त सडकले आनन्द छ।’ उनले भने–‘स्थानीय सरकार आएपछि भित्रभित्रका सडक पनि कालोपत्रे हुन थालेका हुन।’