Skip to main content

गाउँमा विकास त पुग्यो, तर मान्छे हराए

Submitted by editor on
अब राज्यको नीति मान्छे केन्द्रित हुनुपर्छ । गाउँमै बस्न चाहने युवालाई सम्भावनाको ढोका खोल्नुपर्छ । कृषिमा आधुनिकीकरण, सिँचाइ, प्रविधि, बजारीकरण र मूल्य सुरक्षा सुनिश्चित गर्दै स्थानीयको चरम निराशालाई आशामा परिणत गर्न उपयुक्त योजना ल्याइनु पर्छ ।
सरस्वती साउद
सरस्वती साउद

गाउँमा बाटो छ, बत्ती छ, पानी पनि छ तर उपयोग गर्ने मान्छे छैनन् । घर छन्, तर वासिन्दा छैनन् । गाउँमा विकास त धेरै भयो तर ती गाउँ, गाउँ जस्ता रहेनन । अब न बच्चाको हाँसो सुनिन्छ, न त गाउँले जीवनशैली नै भेटिन्छ ।

आज गाउँका घरहरू बन्द छन्  । आँगनमा खेल्ने वालवालिका छैनन् । खेतबारीमा काम गर्ने जोताहा छैनन् । चौतारीमा गफ गर्ने बुढापाका छैनन् । विकासले बाटो त बनायो, तर त्यो बाटोमा हिडने मान्छे हरायो ।

घरघरमा बिजुली त पुग्यो, तर घरमा उज्यालो बाल्ने मान्छे छैन । आधुनीक भवनहरु त बने तर ती भवनमा बस्ने मान्छे छैनन । दिन प्रतिदिन हजारौं संख्यामा युवाहरू सहर र विदेश पलायन भईरहेका छन् । गाउँमा अहिले मलामी जाने मान्छे छैनन । वृद्धबृद्धा मात्र बाँकी छन्, जो न त पूर्ण रूपमा आत्मनिर्भर छन्, न त नयाँ अवसरको खोजिमा पहुँच राख्छन् । गाउँ अबका केही दशकपछि इतिहासमा पढनु पर्ने दिन नआउला भन्न सकिन्न, गाउँ रित्तिएको देख्दा ।

नेपाल एक कृषि प्रधान देश हो । आज पनि देशको धेरैजसो जनसंख्या गाउँमै बसोबास गरिरहेको छ । जहाँ खेतबारी छन्, वनपाखा छन्, सामुदायिक जीवनशैली छ । जसले जीवनलाई सरल र रमाइलो बनाउँछ । तर समयसँगै गाउँको स्वरूप मात्र होइन, मानिसको जीवनशैली पनि बदलिँदै गएको छ ।

राज्यले गाउँगाउँमा विकास पु¥याउने अनेक नीति, योजना र कार्यक्रमहरू ल्यायो । सडक बिछ्याइयो, बत्ती बल्यो, पानीको धारा बग्यो, विद्यालय र स्वास्थ्य चौकी बने । हेर्दा त गाउँमा अब सबै सुविधा पुगेजस्तो लाग्छ । तर यिनीहरूको प्रयोग गर्ने, गाउँमा जीवन जिउने मुख्य स्रोत—मान्छेहरू भने गाउँमै टिक्न सकेनन् ।

आज सडक नपुगेको गाउँ छैन । गाडी गुड्छन, इन्टरनेट चल्छ । सौर्य ऊर्जा र मिनी हाइड्रो परियोजनाबाट उज्यालो फैलिएको छ । फेसबुक, टिकटक चलाउने हातहरू अहिले गाउँ छोडेर पलायन भएका छन । पहिले चिठी कुरिरहेका बृद्धबृद्धा मात्रै अहिले गाउँमा छन ।

घरहरूमा ताला लागेका छन् । गोठहरू बाँझिएका छन्, खेतमा झार उम्रिएका छन् । चिनाजान भएकाहरूको मलामी जाँदा थाहा हुन्छ, उनीहरू गाउँमै थिए भन्ने ।

अवसरविहीन गाउँ
गाउँमा मान्छे नहुनुको मूल कारण हो, अवसरको अभाव । सहरमा शिक्षा, स्वास्थ्य, रोजगारी, व्यवसायको सम्भावना देखिन्छ । गाउँमा शिक्षाको गुणस्तर कमजोर छ । सरकारी अस्पतालहरूमा सुविधा छैन । कृषिमा भर पर्नु भनेको संघर्षको अर्को नाम हो । त्यसैले युवा पुस्ता सहर र विदेशतिर पलायन भइरहेका छन् ।

परिणामस्वरूप, छोरा कतार, अमेरिका वा मलेसिया, बुहारी काठमाडौं, नातिनातिनी बोर्डिङ स्कुलमा । घरमा मात्र आमाबुबा—एकल, मौन र प्रतीक्षारत ।

विकास केका लागि ?
पूर्वाधार बनाउनु विकासको एउटा मात्रै पाटो हो । तर ती संरचनामा जीवन हुनु नै पूर्ण विकास हो । विद्यालय छ, तर शिक्षक छैनन् । अस्पताल छ, तर डाक्टर छैनन् । सडक छ, तर हिँड्ने मान्छे छैनन् । जब मान्छे नै छैनन् भने संरचनाको के अर्थ? विकास भनेको केवल सडक, भवन र बत्ती होइन । त्यो  त मान्छेहरूको जीवन सहज बनाउने माध्यम हो।

अबको बाटो : मान्छे फर्काउने नीति
अब राज्यको नीति मान्छे केन्द्रित हुनुपर्छ । गाउँमै बस्न चाहने युवालाई सम्भावनाको ढोका खोल्नुपर्छ । कृषिमा आधुनिकीकरण, सिँचाइ, प्रविधि, बजारीकरण र मूल्य सुरक्षा सुनिश्चित गर्दै स्थानीयको चरम निराशालाई आशामा परिणत गर्न उपयुक्त योजना ल्याइनु पर्छ ।

स्थानीय उद्योग र सहकारी मार्फत गाउँमै रोजगारी सिर्जना गर्नुपर्छ । शिक्षा र स्वास्थ्य को गुणस्तर सुधार गर्नुपर्छ, ताकि गाउँमा रहेर पनि भविष्य सुरक्षित भएको अनुभूति होस्।ग्रामीण पर्यटन र होमस्टे जस्ता कार्यक्रमहरूबाट गाउँलाई आम्दानीको स्रोत बनाउन सकिन्छ।

गाउँप्रतिको आत्मीयता जगाउनुपर्छ
सबैभन्दा जरुरी कुरा, युवा पुस्तामा गाउँप्रतिको आत्मीयता जगाउनु हो। गाउँ विकासको केन्द्र बन्नुपर्छ। जहाँ मानिस बस्न चाहून्, सपना देखून्, र त्यो सपना साकार पार्न सकून्।

“गाउँमा विकास त पुग्यो, तर मान्छे छैनन” भन्ने यो लाइन आजको नेपाली समाजको वास्तविकता हो ।  केवल संरचना भएर मात्र विकास हुँदैन। जबसम्म संरचनाभित्र जीवन हुँदैन, त्यो विकास अधुरो रहन्छ। 

अब समय आएको छ, जहाँ संरचनासँगै मानव उपस्थितिको सोच लिएर गाउँलाई फेरि जीवन्त बनाउने ।  यदि गाउँहरू खाली भए, देशको जरा नै सुकेको मानिन्छ । त्यसैले अब विकाससँगै मान्छे फर्काउने नीति बनाउनु अत्यावश्यक छ ।