Skip to main content

स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पास भएपछि धनगढीमा बाँडियो मिठाई

Submitted by editor on
चार दलले समिति र सरकारलाई धन्यवाद दिएका छन भने आउदो शैक्षिक सत्रबाट नै चिकित्सा शिक्षाको पढाई हुनुपर्ने माग गरेका छन ।
शिवराज भट्ट
धनगढीमा मिठाई बाँडिएको


धनगढी : प्रतिनिधि सभाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक पारित भएको खुसीयालीमा धनगढीमा मिठाई बाँडिएको छ । कैलालीका चार दलहरुले पत्रकार सम्मेलन गरी सरकारलाई धन्यवाद दिएका छन भने उनीहरुले मिठाई पनि बाँडेका छन ।

नेकपा एमाले प्रदेश कमिटीको कार्यालयमा एमालेकै संयोजनमा आयोजना गरिएको कार्यक्रममा विकासमा एक हुनुपर्ने सन्देश दिँदै सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक पारित भएकोमा खुसीयाली मनाईएको हो ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यवाहक उपसभापति लोकराज अवस्थी, नेकपा एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी, नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम कार्यसमितिको तर्फबाट भरत सी र राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष नन्दराज भट्टले संयुक्त रूपमा विज्ञप्ती जारी गर्दै समिति र सरकारलाई धन्यवाद प्रकट गरेका छन् ।

उनीहरूले संयुक्त रूपमा जारी गरिएको विज्ञप्तीमा मेडिकल कलेज शीघ्र सञ्चालन गर्नेगरि आवश्यक दरबन्दी बजेट तथा अध्ययन अध्यायपनको सिट संख्या निर्धारण गरी तत्काल विश्वविद्यालय सञ्चालन गर्न सरकारसँग आग्रह गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिमका कार्यवाहक सभापति अवस्थीले सबै राजनीतिक दलहरूको एकताले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक पारित भएको भन्दै अझै आउन सक्ने समस्याहरू हल गर्न पनि एक भइरहनु पर्ने बताएका थिए ।

एमाले प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले लामो समय प्रदेशवासीको अपेक्षा पछि विधेयक पारित भएको भन्दै अब कार्यान्वयनमा पनि ढिलाइ गर्न नहुने बताएका थिए ।

कैलालीको गोदावरी नगरपालिका–५ गेटामा ६ सय शैय्या क्षमताको अस्पताल भवन, १ हजार विद्यार्थी क्षमताको कलेज भवन, सडक, खानेपानी, विद्युत, प्रशानीक भवन, चिकित्सक र नर्सिङ आवास सहितका ७ अर्वका संरचना निर्माण भईसकेका छन ।
गेटामा अहिले ५० शैयाको अस्थाई अस्पताल सञ्चालनमा रहेका छ । 

अस्पतालमा जनरल ओपिडि, हाडजोर्नी, जनरल सर्जरी ओपिडि, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, स्त्रीरोग, अल्ट्रासाउन्ड, एक्स रे, प्रयोगशाला र फार्मेसीलगायत सेवा उपलब्ध भइरहेका छन् ।