डोटी : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिक योगदानमा आधारित बिमा प्रणलीले नेपालको स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्ने बताएका छन्। नेपाल प्रेस युनियन डोटी शाखाले शुक्रबार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले नागरिकलाई संवैधानिक व्यवस्था अनुरुपको स्वास्थ्य सेवा उपलब्ध गराउन योगदानमा आधारित बिमा प्रणली लागु गर्ने योजना रहेको बताए ।
नेपालका तीनै तहका सरकारले स्वास्थ्यमा लगानी वृद्धि गर्न जरुरी रहेको उनले बताए । अन्तराष्ट्रिय मापदण्ड अनुसार पनि कुल बजेटको १० प्रतिशत अनिवार्य स्वास्थ्य क्षेत्रमा लगानी हुनुपर्ने हो, उनले भने, “नेपालको हकमा पाँच प्रतिशत पनि लगानी छैन । सरकारले स्रोत अभावको कारण देखाउँदै स्वास्थ्यमा लगानी वृद्धि गर्न सकिरहको छैन । सरकारले लगानी गर्न सक्ने अवस्था होइन भने नागरिक योगदानमा आधारित बीमा प्रणाली विकास गरेर स्वास्थ्य सेवा प्रवाह गर्नु उपयुक्त हन्छ । यो विश्वका १५० वटा देशहरूमा पनि लागु छ ।”
संवैधानिक व्यवस्था बमोजिम स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको दायित्वभित्र पर्ने बताउँदै उनले नेपालको हकमा राज्यले योगदानमा आधारित बिमा प्रणालीबाट मात्रै आफ्नो दायित्व पूरा गर्नसक्ने धारणा व्यक्त गरे । प्रिमियम, तलब दुबै योगदान गर्न नसक्ने नागरिकको प्रिमियम सरकारले तिरेर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने गरी योगदानमा आधारित बिमा प्रणाली लागु गर्ने तयारी रहेको मन्त्री पौडेलले बताए ।
“योगदानमा आधारित बीमा प्रणली अन्तरगत ५ लाखसम्मको बिमा पु¥याउने मन्त्रालयको योजना रहेको छ । विगतमा १ लाखको स्वास्थ्य बीमा बनाउँदा बीमाको खर्च २४ अर्ब रहेको थियो । हाल २ लाखको बिमा बनाउँदा २९ अर्ब खर्च पुगेको छ । बिमा कम्तिमा ५ लाखको पु¥याउनुपर्छ । ५ लाख पु¥याउँदा खर्च एक खर्ब पुग्छ । हामीले त्यसको सम्पूर्ण तयारी गरिसकेका छौं । नीति, कार्यक्रम, योजना बनाएर प्रस्ताव गरेकाछौं, उनले भने ।
मन्त्री पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका आधारभूत अस्पतालहरु चाँडै सञ्चालनमा ल्याइने दावी गरे । हस्तान्तरण भइसकेका अस्पतालहरु सञ्चालनमा ल्याउन र निर्माणकार्य अधुरो रहेका अस्पतालहरुलाई पूर्णता दिन तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढिरहेको उनको दाबी छ ।