Skip to main content

परराष्ट्र मन्त्री राणाद्धारा बेहडाबाबा मन्दिरमा पूजा

Submitted by editor on
ईबिगुल संवाददाता
आरजु राणा

धनगढी : कैलालीको बेहडाबाबा मन्दिरमा परराष्ट्र मन्त्री डाक्टर आरजु राणाले पूजा गरेकी छन्। सुदूरपश्चिमकै शक्ति पीठका रूपमा रहेको बेहडाबाबामा परराष्ट्र मन्त्री राणाले दर्शन गरेकी हुन्।

धनगढी–१६, रामपुरमा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरको दर्शन गर्न परराष्ट्र मन्त्री राणा शुक्रवार पुगेकी हुन्। दर्शन गर्न पुगेकी परराष्ट्र मन्त्री राणाले आगन्तुक पुस्तिकामा बेहडाबाबाको दर्शन पाएकोमा खुसी व्यक्त गर्दै बेहडाबाबाले देशमा शान्ति तथा अमन चयनको कामना उल्लेख गरेकी छन्। हरेक वर्ष गंगादशहराका अवसरमा लाग्ने बेहडाबाबा मन्दिरमा दर्शन गर्न पुग्दै आएकी परराष्ट्र मन्त्री राणाले बेहडाबाबाले मन्दिर व्यवस्थापन समितिलाई मायाको चिनो समेत हस्तान्तरण गरेकी छन्।

यसअघि सुदूरपश्चिम आएको समयमा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समेत बेहडाबाबा मन्दिरको दर्शन गरेका थिए। सुदूरपश्चिमकै धार्मिक आस्थाको केन्द्रबिन्दु बन्दै गएको बेहडाबाबा मन्दिरको दर्शन गर्न परराष्ट्र मन्त्री राणा आएसँगै यस क्षेत्रको धार्मिक विकासमा मद्दत पुग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले बताए।

बिहिवारदेखि बेहडाबाबा मन्दिरमा सुरु भएको गंगादशहरा मेला जेठ २५ गतेसम्म सञ्चालन हुने छ। मेलामा सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै भारतका उत्तर प्रदेश, उत्तराखण्डलगायतका श्रद्धालु भक्तजनहरू दर्शन गर्न बेहडाबाबा पुग्ने गर्छन्। परराष्ट्र मन्त्री राणा लगानी तथा विकास सम्मेलनको तयारी बैठकमा सहभागी हुन सोमवार धनगढीमा आएकी हुन्।