कैलाली : कैलालीको मोहन्याल गाउँपालिका–१ को कोपिला सामुदायिक वनका उपभोक्ताहरूलाई ग्याँस र चुलो वितरण गरिएको छ।
चुरे क्षेत्रमा पार्ने सामुदायिक वनमा जोडिएका महिलाहरूलाई खाना पकाउने इन्धनको रूपमा ग्यास चुलो वितरण गरिएको हो।
सधैँ खाना पकाउने दाउराको जोहो गर्न वन जङ्गल धाउनुपर्ने समस्या अब ती महिलाहरूका लागि हटेको छ। ग्यास चुलो पाएका तारा शर्माले खुसी व्यक्त गर्दै सामुदायिक वनबाट निःशुल्क ग्यास चुलो पाएपछि दाउराका लागि वनमा धाउनु पर्ने बाध्यता हटेको बताइन्।
सामुदायिक वनमा जोडिएका एक सय ४८ जना उपभोक्ताले सात हजार बराबरको ग्यास चुलो निःशुल्क पाएका हो। कोपिला सामुदायिक वनले ढलापडा काठ बेचेर आम्दानी गरेको रकमले उपभोक्तालाई ग्यास चुलो वितरण गर्ने निर्णय गरेको छ। वन जोगाउने उद्देश्य र उपभोक्ताको स्वास्थ्य सुलभताका लागि ग्यास चुलो वितरण गरिएको वनका अध्यक्ष गणेशबहादुर बुढा मगरले बताए।
आम्दानी दिने वनलाई संरक्षण गर्न उपभोक्ताको दायित्व रहेको उल्लेख गर्दै उपभोक्ताले ग्यास चुलो प्रयोग गरेपछि दाउराका लागि वनमा आश्रित हुन नपर्ने उनले उल्लेख गरेका छन्। सामुदायिक वनमा दाउरा सङ्कलन गर्दा वन फँडानी र गोलियाहरू टक्राउने कार्य रोक्न एक सय ४८ जना उपभोक्तालाई १० लाख ३६ हजार रुपियाँ बराबरका ग्यास चुलो वितरण गरिएको हो।
तराई र चुरे पहाडको भावर क्षेत्रमा रहेको उक्त सामुदायिक वनले वैज्ञानिक वन कार्यक्रमबाट काठ बिक्री गरी राम्रो आम्दानी गरेको छ। वनका अध्यक्ष बुढा मगरले वैज्ञानिक वनको काठ बिक्रीबाट ३० लाख रुपियाँ बराबरको लागतमा सामुदायिक वनको भवन बनाउनुका साथै सामुदायिक उत्तरदायित्वअन्तर्गत खानेपानी मर्मतलगायतका काममा खर्च गरेको बताए।