Skip to main content

एमालेभीत्र एकता नभए सून्य सीटमा झरिन्छ : ईञ्चार्ज भट्ट

Submitted by editor on
सचिव भट्टले पार्टी अध्यक्षको आत्मबल र सक्रियता सबैका लागि प्रेरणादायी भएको उल्लेख गरे ।
ईबिगुल संवाददाता
लेखराज भट्ट

धनगढी : नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टले एमालेमा एकता भएमात्रै मिशन ८४ सफल हुने बताएका छन । उनले पार्टीभीत्रको गुटबन्दीको अन्त्य भए आगामी प्रतिनिधि सभाको निर्वाचनमा सुदूरपश्चिमका १६ वटै सीट जितिने बताए । 

‘पार्टीभीत्र एकता कायम भए आगामी प्रतिनिधि निर्वाचनमा सुदूरपश्चिमका १६ वटै सीट जित्न सकिन्छ, तर गुटबन्दी हावी भयो भने एक सिट पनि जित्न गाह्रो हुन्छ’ उनले भने । गत निर्वाचनमा एमालेले सुदूरपश्चिमका १६ सीट मध्ये २ सीट मात्र जितेको थियो ।

‘पार्टीभीत्र एकता भएन भने हामी हाल प्राप्त दुई सिट समेत गुमाएर पार्टी शून्य सिटमा झर्न सक्ने सम्भावना देखेको छु’ उनले भने । नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सचिव भट्टले पार्टीमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको बताए । यस्तो अवस्थामा जनवर्गीय सङ्गठनहरू सक्रिय भएर अग्रपंक्तिमा उभिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

‘पार्टीमा संकट पर्दा जनसंगठनहरु अग्रपंतीमा उभीनुपर्छ । एमाले अहिले बलियो बन्दै गएकाले यसमाथिको आक्रमण बढिरहेको छ’ उनले भने । ‘पार्टीलाई घेराबन्दीमा पारेर बदनाम गर्ने प्रयास भईरहेका छ । जनसंगठनका प्रतिनिधिहरु चनाखो हुन जरुरी छ ।’

सचिव भट्टले पार्टी अध्यक्षको आत्मबल र सक्रियता सबैका लागि प्रेरणादायी भएको उल्लेख गरे । ‘पार्टी अध्यक्ष देश निर्माणमा समर्पित हुनुहुन्छ । दिनको २० घण्टा काम गर्नुहुन्छ । यस्तो नेतृत्वबाट खेलाडीहरूले पनि प्रेरणा लिनुपर्छ ।’

कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहालले पार्टीमा संकट उत्पन्न भएका बेला महासंघको भूमिका महत्वपूर्ण हुने बताए । 

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा खेलकुद र खेलाडीहरूको ठुलो सम्भावना रहेको बताए ।

उनले समृद्धिका लागि खेलकुदलाई आर्थिक र सामाजिक विकाससँग जोड्नुपर्ने धारणा राखे । विशेषगरी क्रिकेट खेलमा यहाँ ठुलो सम्भावना रहेको भन्दै उनले स्तरीय क्रिकेट मैदान निर्माणको आवश्यकता औँल्याए ।