Skip to main content

पश्चिमि बायुले मौसममा गडबडी : सुर्खेत डायभर्ट गरिएका जहाज धनगढी फर्किए

Submitted by editor on
शिवराज भट्ट
श्रीएयर

धनगढी : अचानक विमानस्थल बन्द भएपछि सुर्खेत डाईभर्ट गरिएका बुद्ध एयर र श्रीएयरका जहाजहरु धनगढी फर्केका छन । दुबै जहाजहरु धनगढी ल्याण्ड भईसकेको धनगढी विमानस्थलले जनाएको छ । 

काठमाण्डौंबाट विहान ९ः४० मा धनगढीका लागि उडेको बुद्ध एयरको उडान संख्या २५१ को जहाज र ९ः४२ मा धनगढीकै लागि यडेको उडान संख्या २२१ को श्री एयरलाईन्सको जहाज अचानक विमानस्थल बन्द भएपछि सुर्खेत डाईभर्ट गरिएका थिए ।

पश्चिमि बायुको प्रभावले एकै छिनमा हुस्सु आउने÷जाने गरेपछि हवाई सेवाहरु प्रभावित भएका छन । आज विहान खुलिसकेका धनगढी विमानस्थल अचानक बन्द भएपछि दुबै जहाजलाई सुर्खेत डायभर्ट गरिएको धनगढी विमानस्थलका प्रमुख गणेश बहादुर सिहले बताए ।

यसअघि बुद्ध एयरको जहाज कर्णाली नदिको आकाश र श्री एयरको जहाज घोडाघोडी ताल माथिको आकाशमा पुगिसकेका थिए । धनगढी विमानस्थलमा अचानक हुस्सु लागेपछि दुबै जहाज सर्खेत फर्काईएको थियो । ‘धनगढीको विमानस्थल फेरि खुलिसक्यो, दुबै जहाज धनगढी आएका छन’ विमानस्थल प्रमुख सिहले भने ।

सामान्यतया विमानस्थलमा जहाज अवतरणका लागि ५ हजार मिटरको आँखाले देखिने ‘भीजिविलिटि’ चाहिन्छ । तर धनगढी विमानस्थलमा गतवर्ष नै भिओआरडिएमई नामक उपकरण जडान गरिएको थियो । त्यस उपकरण पछि १७ सय मिटरको ‘भीजिविलिटि’ मा पनि जहाज अवतरण गर्न सकिन्छ ।

‘तर २ हजार मिटर ‘भीजिविलिटि’ पुगिसकेको विमानस्थल अचानक हावा चलेर एक हजार ‘भीजिविलिटि’ मा आयो । त्यही भएर जहाजहरु सुर्खेत डायभर्ट गरिएका हुन’ विमानस्थल प्रमुख सिहले भने । ‘विहान नेपालगञ्ज विमानस्थल खुलेको थियो, अहिले त्यहाँ पनि बन्द भईसकेको छ । त्यहाँका २ जहाज हाम्रो कन्ट्याक्टमा आएका छन ।’ 

उनले पश्चिमि हावाका कारण कतिबेला मौसममा के हुन्छ भन्ने कुरा थाहा नहुने बताए ।