डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–९ नौलामा भएको जीप दुर्घटनामा मृत्यु भएका दुई जना महिलाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार परशुराम नगरपालिका–९ सल्लेटाकी ४० वर्षीया मोतिदेवी सार्की र आलीताल गाउँपालिका–७ की ३८ वर्षीया धनादेवी बुढाको दुर्घटनामा ज्यान गएको हो ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी ९ जना घाइते भएको जनाइएको छ । घाइतेको भने महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीदेखि परशुराम नगरपालिकाको जोगबुडातर्फ गइरहेको लु १ ज ४५७९ नम्बरको बोलेरो जीप कञ्चनपुर र डडेलधुराको सीमा नजिकै नौलामा मंगलबार बेलुका दुर्घटना भएको थियो । जीप सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जीपमा १२ जना सवार रहेको प्रहरीले जनाएको छ । चालक सकुशल रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । कच्चि सडकमा क्षमता भन्दा वढि यात्रु चढ्नु पनि दुर्घटनाको कारण बनेको छ ।
घाइतेहरु
१) परसुराम नगरपालिका ११ सेलेनाका राजेन्द्र भट्टकी २८वर्षिया श्रीमती पुष्पा भट्ट
२) उहाँका ८ वर्षका छोरा अनुपम भट्ट
३) उहाँकै ४ वर्षका छोरा कृष्ण भट्ट
४) परसुराम नगरपालिका ११ का ३५ वर्षका डम्मर धामी
५) परसुराम नगरपालिका ११ का ३५ वर्षका डम्मर धामीकी आमा पार्वती धामी
६) सोही ठाउँका केशव भट्ट
७) परसुराम नगरपालिका सलेताका २९वर्षका खेमराज भट्ट
८) चालक (नाम खुलेको छैन)