Skip to main content

चर्को भाडा असुली गर्दै टीकापुर–धनगढी सडकमा चल्ने सवारीधनीले , यात्रु मारमा

Submitted by editor on
ईबिगुल संवाददाता
 चर्को भाडा असुली

टिकापुरः  कैलालीको टीकापुर–धनगढी सडकमा चल्ने सवारीधनीले चर्को भाडा असुली गर्दा यात्रु मारमा परेका छन्।

यातायात व्यवस्था विभागले २०८१ पुस २२ गतेदेखि लागु हुने गरी भाडा दर तोके पनि यातायात व्यवसायीले त्योभन्दा बढी भाडा लिइरहेका छन्। सरकारले २५ किलोमिटरदेखि २५० किलोमिटर दुरीका पक्की तथा ग्राभेल बाटोमा चल्ने यात्रुवाहक बस, मिनीबसका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति तीन रुपियाँ भाडा दर तय गरेको छ तर टीकापुर–धनगढी रुटमा करिब एक सय किलोमिटरको भाडा ३५० रुपियाँ उठाइरहेका छन्।

विभागले तोकेको भाडादर अनुसार यस क्षेत्रको भाडा तीन सय रुपियाँ हुनुपर्ने हो। यस्तै लम्की चोकदेखि टीकापुरसम्मको दुरी १३ किलोमिटर छ। यस रुटको भाडादर प्रतियात्री ६० रुपियाँ उठाइरहेका छन्। सरकारले प्रतिकिलोमिटर तीन रुपियाँ राखे पनि टीकापुर–धनगढी रुटमा साढे तीन रुपियाँ र टीकापुर लम्की सडक (१३ किलोमिटर) मा प्रतियात्री प्रतिकिलोमिटर चार रुपियाँ साठी पैसा असूली भैरहेको छ।  तय गरेको भाडादर लागु भए ३९ रुपियाँ मात्रै पर्ने थियो।

यातायात व्यवस्था विभागको सवारी अनुगमन मापदण्ड तर्जुमा, सवारीचालक व्यवस्थापन अन्तरप्रदेश समन्वय, अध्ययन अनुसन्धान शाखाका प्रमुख तथा सूचना अधिकारी गणेशमानसिं राईले विभागले तोकेको भाडादर लागु गर्ने सम्बन्धित प्रदेशको जिम्मेवार निकाय र प्रमुख जिल्ला अधिकारीको रहेको बताए। भाडादरमा ठगी भइरहेको विषयमा जिल्ला प्रशासन कार्यालय कैलालीलाई छ महिनापहिले नै निवेदन गरे पनि कुनै सुनुवाइ नभएको उपभोक्ता अधिकारकर्मी शेरबहादुर विष्टको भनाइ छ।

सुदूरपश्चिम बस व्यवसायी समितिका अध्यक्ष पदम सापकोटाले सरकारले नयाँ रुटमा दर कायम नगरेको, सबै सामानको मूल्य वृद्धि भइरहेको र अन्य समितिले पनि यसै गरी भाडा उठाइराखेको बताए।