Skip to main content

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ५ लाख जरिवाना

Submitted by editor on
ऐजेन्सीहरुको सहयोगमा
सन्दीप

काठमाण्डौं : जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश समेत गरेको छ ।

जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जरिवाना बापतको ३ लाख रुपैयाँ समेत पीडितले नै पाउने गरी आदेश भएको बताए ।

१३ पुसमा जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तीन वर्षभन्दा भन्दा बढी कैद सजाय हुने कसुरमा सजाय निर्धारणका लागि छुट्टै इजलास बस्नुपर्ने कानुनी व्यवस्था अनुसार बुधबारको मिति तोकिएको थियो ।

उनले गौशाला २६ घटनाका बेलामा बालिग भइसकेको ठहर गरेका छन् । सजाय निर्धारण भएपछि जिल्ला अदालतले अब फैसलाको पूर्णपाठ तयार गर्नेछ । मुद्दाका पक्षहरुले पूर्णपाठ बुझेपछि चित्त नबुझे उच्च अदालत पाटनमा पुनरावेदन दिन पाउनेछन ।

५ भदौ, २०७५ मा बन्द प्रशिक्षणमा रहेका बेला क्रिकेटर सन्दीप लामिछाने ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर पीडित (गौशाला २६)लाई भेटेका थिए । सन्दीपले पीडितलाई नगरकोट घुमाएर फर्किएपछि सिनामंगलस्थित एक होटलमा बास बसेको र त्यस क्रममा बलात्कार गरेको भन्दै पीडित गौशाला २६ ले जाहेरी दिएकी थिइन् ।

जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेलाई गतवर्ष पुसमा उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । उच्च अदालतले विदेश जान रोक लगाएकामा सर्वोच्च अदालतले भने उनलाई विदेश जान पाउने आदेश दिएको थियो ।