चडेपानी (बैतडी) : सानो गाउँ, १० कक्षा सम्मको पढाई मात्र हुने विद्यालय । घरपरिवारको काम पनि गर्दैपर्ने । तर पनि भावना भट्टले यसपालीको एसईईमा विद्यालयमै किर्तिमान बनाएकी छिन । दोगडाकेदार गाउपालिका वडा नम्बर ७ मा पर्ने भूमीराज मावि चडेपानीकी छात्रा भावना भट्टले २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३.८० जीपीए ल्याउँदै विद्यालयमै किर्तिमान बनाएकि छिन ।
न केवल विद्यालय, तर सम्पूर्ण गाउँ र जिल्ला स्तरमा शैक्षिक जगतमा एक उज्यालो छाप छोडेकी छिन् उनले । जहाँ शिक्षाको सपना हेर्न पनि संघर्ष हुन्छ, त्यहाँबाट भावना भट्टले श्री भूमिराज माध्यमिक विद्यालयको इतिहासमा पहिलो पटक यस्तो उत्कृष्ट नतिजा ल्याउनु केवल सफलता मात्र होइन, एउटा संघर्षपुर्ण विजय यात्रा हो ।
विद्यालयले उनलाई सानैदेखि अनुशासित, मेहनती, र आत्मनिर्भर छात्राको रूपमा स्मरण गर्छ । प्रधानाध्यापक शङ्कर भट्टका अनुसार, भावना त्यस्ती छात्रा हुन् जसले किताबलाई साथी बनाइन्, अभ्यासलाई बानी, र सपनालाई लक्ष्य ।
प्रधानाध्यापक भट्ट भन्छन, ‘भावनाले देखाइन् कि गाउँको छोरी पनि सहरको छात्रालाई टक्कर दिन सक्छे ।’ जब अंग्रेजी शिक्षक लक्ष्मी दत्त भट्टले भावना भट्टलाई हेर्थे, उनलाई लाग्थ्यो ‘यी आँखाहरूमा केही विशेष छ ।’ अनि भयो पनि त्यही, अंग्रेजी विषयमा उनले पूर्ण ४.० जीपीए ल्याएर विद्यालयलाई नै चकित पारिन् ।
भट्ट भन्छन, ‘सामुदायीक विद्यालयमा पनि अध्यापन राम्रो हुन्छ तर विद्यार्थीले घरमा पनि मेहनत गर्नुपर्छ अनी अभिभावकले पनि पढने वातावरण मिलाई दिनुपर्छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहदेब भट्ट भन्छन्, ‘’उनी जति सरल छिन्, त्यति नै गहिरो सोच राख्छिन् । उनको लगनशीलता आज गाउँकै पहिचान बनेको छ ।’ भावनाका बुबा महेश शरण भट्ट, आफैं पनि शिक्षक, छोरीको सफलतामा गद्गद् छन् । भट्ट भूमीराज माविकै विज्ञानका शिक्षक हुन ।
उनी भन्छन्, ‘हामीले घरमा पढाइको वातावरण बनाइदियौं, बाँकी छोरीले आफैं गरिन् । हरेक घरमा यस्तो सहयोग होस् भने गाउँका हरेक कोठाबाट भावना जन्मन्छ ।’ भावनाको सफलताले चडेपानी गाउँ मात्र होइन, सम्पूर्ण दोगडा केदार गाउँपालिका भित्र नयाँ शैक्षिक चेतना ल्याएको छ । उनको नतिजाले बालबालिका, किशोरीहरू र अभिभावकहरू सबैलाई नयाँ सोच र भरोसाको ढोका खोलिदिएको छ।