Skip to main content

देशैभरी पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवश मनाईदै

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
पृथ्वीनारायण शाह

काठमाडौं : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याएका योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिएको छ ।

सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदैछ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए ।

उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । 

विसं १७७९ मा जन्मनुभएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए । उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन’ भन्नेलगायत  दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । 

पछिल्ला वर्षमा उनको योगदानका कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ ।