Skip to main content

देवहरिया वनस्पति उद्यान जडिबुटी अध्ययन अनुसन्धानको केन्द्र बन्दै

Submitted by editor on
ईबिगुल संवाददाता
देवहरिया वनस्पति उद्यान

धनगढी : धनगढी उपमहानगरपालिका–७ मा रहेको देवहरिया वनस्पति उद्यान जडिबुटीका बारेमा अध्ययन गर्ने विद्यार्थीका लागि अनुसन्धानको केन्द्र बनेको छ । 
एमबिबिएस, बिएससीमा अध्ययन गर्ने विद्यार्थीहरु जडिवुटीको अध्ययन अनुसन्धान गर्न उद्यानमा आउने गरेको वनस्पति अनुसन्धान केन्द्र कैलालीकाका हेड फिल्ड असिष्टेन्ट कृष्णबहादुर वुढाथोकीले जानकारी दिए । आर्थिक वर्ष २०८१\८२ मा कैलाली बहुमुखी क्याम्पसबाट दुई छात्रले सयपत्री फूलको पात र फूल सम्बन्धी अध्ययन गरेका र ऐश्वर्य बहुमुखी क्याम्पसका दुई जना छात्राले बोझो जडिवुटीमा अध्ययन अनुसन्धान गरेको उनले बताए । नेपालको आर्थिक विकासका लागि प्राथामिकतामा राखिएका ३३ जडिवुटीमध्ये २० जडिवुटी उद्यानमा संरक्षित गरी राखिएको उनको भनाइ छ । यहाँ अधिकांश चुरे र तराई क्षेत्रमा पाइने जटिबुटी रहेको उनले बताए ।

यस्तै, देवहरिया वनस्पति उद्यानले २४ लाख ५४ हजार ६७५ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१र८२ मा उद्यानभित्र अवलोकन गर्न आउने आन्तरिक पर्यटकवाट राजस्व संकलन गरेको हो । संकलित राजस्वमा दुईवटा म्युजिक भिडियो छायांकन शुल्कसहित जोडिएको जनाएको छ । ५ बर्षसम्म र सो भन्दा माथिकोलाई १० रुपैयाँ, १० बर्ष माथिकालाई २०, ज्येष्ठ नागरिकलाई ५ र विद्यार्थीका लागि १० रुपैयाँ टिकटको व्यवस्था गरिएको वनस्पति अनुसन्धान केन्द्र कैलालीका सूचना अधिकारी सुवेक्षा शर्माले बताईन । अवलोकन गर्न आउने पर्यटकका लागि नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको सूचनाको आधारमा टिकट मूल्यको व्यवस्था गरिएअनुसार नै लिने गरेको उनको भनाइ छ ।

राजपत्रमा बाह्य पर्यटकका लागि छुट्टै टिकटको व्यवस्था नहुनुले बाह्य पर्यटकको यकिन तथ्याङ्क नहुने गरेको जनाएको छ । उनीहरुको हकमा पनि आन्तरिक पर्यटक जस्तै टिकटको व्यवस्था गरेको उनले जनाईन । ‘बाह्य पर्यटकका लागि अलग टिकटको व्यवस्था गरिएको भए कति जना बाह्य पर्यटक यहाँ अवलोकन गर्न आए भन्ने कुरा थाहा हुने थियो’ उनले भनिन् ‘तर सोको व्यवस्था नहुँदा यकिन तथ्याङक कार्यालयलाई जानकारी हुँदैन ।’ त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०८०\८१ मा २५ लाख ५ हजार राजस्व संकलन हो ।