धनगढी : खुला सीमानाको फाईदा उठाउदै भईरहेको ‘ड्रग्स’ तस्करीमा ९० प्रतिसत युवाहरु संलग्न रहेका पाईएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले २०७९ सालको चैत देखि २०८० सालको असार मसान्तसम्म सार्वजनिक गरेको एक अध्ययन अनुसार ३० वर्ष मुनीका ८९ प्रतिसत युवाहरु लागुपदार्थको सेवन र कारोबारमा लागेको भेटिएको हो ।
सुदूरपश्चिम प्रदेशमा २०७९ सालको चैत देखि २०८० सालको असारसम्म ४ सय जना लागुपदार्थका कारोबारी पक्राउ परेका थिए । उनीहरुको उमेर समुहका आधारमा बर्गिकरण गर्दा सबैभन्दा बढी १६२ जना २५ देखि ३० वर्ष उमेर समुहका युवाहरु ड्रग्सको सेवन र कारोबारमा पक्राउ परेका छन । ‘प्रतिसतमा भन्ने हो भने यो ४१ प्रतिसत हो’ प्रदेश प्रहरी कार्यालय, अपराध अनुुसन्धान शाखाका एक प्रहरी अधिकृतले भने ।
१६ वर्ष देखि २० वर्ष अथवा ‘टीन एजर’ समुुहका १०६ जना युवाहरु लागुपदार्थको सेवन र कारोबारमा पक्राउ परेका छन । ‘चैत देखि असार सम्मको ४ महिनाको तथ्यांक विश्लेषण गर्ने हो भने टीनएजर मात्रै २७ प्रतिसत लागुपदार्थको सेवन र कारोबारको आरोपमा पक्राउ परेका छन’ ती सुरक्षा अधिकारीले भने ।
प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुुसार कुल पक्राउ परेका ४ सय जना मध्ये मा १६ वर्ष देखि २० उमेर समुहका (टीनएजर) १०६ जना पक्राउ परेका छन । यो भनेको २७ प्रतिसत हो ।
प्रहरीले २६ देखि ३० वर्ष उमेर समुहका १८ प्रतिसत र १५ वर्ष मुनीका ३ प्रतिसत वालवालिका पनि लागुपदार्थको सेवन तथा कारोबार गरेको आरोपमा पक्राउ परेका छन । प्रहरीले ३१ देखि ४० वर्ष उमेर समुहका ३२ जना, ४१ वर्ष देखि ५० वर्ष उमेर समुहका १० जना र ५१ देखि ६५ वर्ष उमेर समुहका २ जनालाई लागुपदार्थको कारोबारमा पक्राउ गरिएको जनाएको छ ।