धनगढी : जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा काँग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन । बुधबार नागरिक उन्मुक्ति पार्टीकी रुपमती डँगौरा थारुले उमेदवारी फिर्ता लिएपछि भूल समन्वय प्रमुखमा निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने प्रावधान छ । कैलालीमा १३ स्थानीय तहका २६ मतदाताले समन्वय प्रमुखमा मतदान गर्न पाउछन ।
टीकापुर नगरपालिकालका उप प्रमुख निलम्बनमा परेकाले अहिले समन्वय समितिको मतभार २५ हो । काँग्रेसकी उमेदवार भुललाई नेकपा एमालेले समर्थन गरेपछि भुलको जित्ने निश्चित थियो । काँग्रेससँग ८ र एमालेका ५ गरी १३ मतभार भुलको पक्षमा थियो ।
नाउपासँग ७ मतभार रहेकोमा माओवादीसँग ३, समाजवादी १ र स्वतन्त्र १ मतभार रहेको थियो । काँग्रेस एमाले बाहेकका सबै मत नाउपाले पाएपनि जित्ने सम्भावना नरहेकाले रुपमतीले उमेदवारी फिर्ता लिएकी हुन ।
प्रदेश निर्वाचन कार्यालय, कैलालीका निमित्त प्रमुख प्रेम भट्टले नाउपाकी उमेदवार रुपमती डँगौरा थारुले उमेदवारी फिर्ता लिएकाले काँग्रेसकी भुल निर्विरोध निर्वाचित भएको बताए । तर भुललाई निर्वाचित भएको प्रमाणपत्र भने मंसिर १६गते मात्रै दिईनेछ ।
नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो ।