Skip to main content

कैलालीको तापक्रम साढे ५ डिग्री, चिसोले जनजीवन कष्टकर

Submitted by editor on
आज यस हिउदकै बढी जाडो मापन
शिवराज भट्ट
जल तथा मौसम विज्ञान विभाग

धनगढी :  धनगढीमा बुधबार यस हिउदकै सबैभन्दा बढी जाडो मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग अत्तरियाले बुधबार धनगढीको न्युनतम तापक्रम ५ दसमलव ६ डिग्री मापन भएको जनाएको छ ।

५ दसमलव ६ डिग्री तापक्रम यस हिउदै सबैभन्दा कम मापन हो । बुधबारको अधिकतम तापक्रम पनि अहिलेसम्मकै सबैभन्दा कम ११ दसमलव ७ डिग्री मापन भएको छ । ‘आजको दिन यस हिउदको सबैभन्दा बढी चिसो मापन भएको दिन हो’ जल तथा मौसम विज्ञान विभाग अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले भने । ‘जाडोको सिजन अझै बाँकी छ । यसभन्दा पनि कम मापन हुनसक्छ ।’

उनले यसअघि ११ जनवरी अथवा पुसको २६ गते न्युनतम तापक्रम ८ दसमलव ५ डिग्री र अधिकतम तापक्रम १२ दसमलव १ डिग्री मापन भएको बताए । ‘त्यस  दिन पनि अत्यधिक जाडो महसुुस भएको थियो । तर बुधबार  त्यसको पनि रेकर्ड ब्रेक भयो’ चौधरीले भने ।

न्युनतम तापक्रम कम मापन हुनु र अधिकतम पनि नबढनु भनेको बढी चिसो महसुस हुनुु हो ।  जाडो बढेपछि दैनिक कामकाजमा असहजता भएको छ । मजदुरी गरिखाने वर्ग सबैभन्दा बढी चिसोको चपेटामा परेको छ भने भूमीहीन र सुकुम्बासी शिविरहरुमा झन समस्या भएको छ । 

तराईका जिल्लामा पछिल्लो १० दिन देखि दिनभरी हुस्सुलाग्ने गरेको छ । हुस्सुका कारण सुदूरपश्चिम क्षेत्रको हवाई सेवा पनि प्रभावित भएको छ । हुस्सुुका कारण एकै छिनमा विमानस्थल खुल्ने र बन्द हुने गर्नाले दैनिक जसो जहाजहरु डायभर्ट गर्नु परेको धनगढी विमानस्थलका टावर प्रमुख दिपक भट्टले बताए ।

१० दिनदेखि घाम नपरेपछि बालवालिका र जेष्ठ नागरिकहरु विरामी पर्न थालेका छन । सेती प्रादेशीक अस्पताल र अन्य नीजि अस्पतालहरुमा बालवालिका र जेष्ठ नागरिक विरामीको संख्या बढन थालेको छ । चिसोका कारण रुघाखोकी, निमोनिया जस्ता सिजनल फ्लुुका विरामीहरु बढने गरेको गेटा अस्पतालका फिजिसियन डाक्टर चेतराज भट्टले बताए ।

‘यस्तो बेला राती घरभीत्र कोईला बाल्नुु हुदैन । त्यसले कार्बन मोनोस्साईड भएर ज्यानै जाने हुनसक्छ । जेष्ठ नागरिक र बालवालिकालाई घरबाहिर पठाउनु हुन्न । झोलिलो र न्यानो कुरा खानुपर्छ’ डाक्टर भट्ट भने ।