धनगढी : बाजुराको उप निर्वाचनमा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र मिलेका छन । प्रतिपक्षमा रहेको माओवादी केन्द्रले उप निर्वाचनमा एमालेलाई सघाउने सहमति गरेको एमालेका प्रदेश सचिव रण बहादुर चन्दले बताए ।
बाजुराको स्वामीकार्तिक खापर गाउपालिकामा यही मंसिर १६गते उपाध्यक्ष पदका लागि उप निर्वाचन भईरहेको छ । स्वामिकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा माओवादीबाट उम्मेदवार बनेकी राजु कुमारी विकले उपमेदवारी फिर्ता लिएर एमाले उमेदवार जिताउन प्रचारप्रसारमा हिडेको सचिव चन्दले बताए ।
मंसिर २ गते माओवादी केन्द्रबाट उनले उम्मेदवारी दर्ता गरेकी थिइन् । ५ गते एमालेलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएको भोली पल्टैबाट उनी एमाले प्रचार प्रसारमा लागेकी हुन् ।
‘एमालेलाई सघाउने गरी उहाँको उम्मेदवारी फिर्ता गराईएको होे’, माओवादी प्रदेश सचिव सुरेश विकले भने । ‘एमालेलाई सघाउने निर्णय नै गरिसकेका छौं ।’
माओवादी पार्टीबाट उम्मेदवार भएकी राजु विक स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटको एमाले चुनावी सभामा पनि देखिएकी थिइन् । उनले एमाले जिताउन पनि आह्वान गरिन् ।
स्वामीकार्तिक खापरमा नेपाली काँग्रेसले पुलतीसरा शाही, नेकपा एमालेले सुलोचना कुमारी भण्डारी बुढा र नेकपा एकीकृत समाववादीले जवा शाहीलाई उम्मेदवार बनाएको छ ।
२०७९ को निर्वाचनमा एमाले काँग्रेस प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार विजयी भएका थिए । अहिले माओवादीले पनि समर्थन गर्दा एमालेको जीत सुनिश्चित भएको एमाले प्रदेश सचिव रणबहादुर चन्दले दाबी गरे ।
‘एमालेको त्यहाँ बलियो संगठन हो, मतदाताहरुले एमालेलाई निकै रुचाउनु भएको छ । माओवादीले पनि साथ दिएपछि जीत सुनिश्चित भएको छ’ प्रदेश सचिव चन्दले भने ।
२०७९ मा उपाध्यक्षमा कांग्रेसकी मैना जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी नेकपा (एमाले)की सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याएकी थिइन् । मंसिर १६गतेको निर्वाचनमा ७ हजार ४ सय ६० मतदाताले मतदानमा भाग लिन पाउने छन ।