धनगढी : जेन–जी आन्दोलनका क्रममा कैलालीका अधिकांश सरकारी संरचना ध्वस्त भए । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा संरचनामा क्षति पुगेको हो । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार, बेथिति तथा प्रहरी दमनविरुद्ध भएको आन्दोलनका क्रममा प्रदर्शनकारीले सरकारी संरचनालाई निसाना बनाएका थिए । यस्तै केहि सार्वजनिक पदमा रहेका व्यवसायीक भवनमा समेत क्षति गरेका छ । कार्यालयहरुले मुचुल्लक बनाउँदै सरसफाई कार्य अगाडि बढाएका छन् । सेवाग्राहरुको कामलाई ध्यानमा राखेर केहि कार्यालहरुले थोरै भए पनि सुरुवात गरेका छन् ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा रहेका नेपाल टेलिकम, विद्युत, स्वास्थ्य कार्यालय, सेती प्रादेशिक अस्पताल, धनगढी उपमहानगरपालिका र नेपाल प्रहरीको बाहेक सबैजसो कार्यालयमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका थिए । ती बाहेकका प्रायजसो सबै सरकारी कार्यालयका भवनमा आगजनी गरिएको छ भने सवारी साधन समेत जलाइएका छन् । धनगढी मात्र नभएर अत्तरिया, घोडाघोडी, लम्कीचुहा, टीकापुरलगायतका ठाउँमा रहेका सरकारी संरचनामा समेत क्षति पुगेको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार क्षतिको यकिन विवरण संकलनको कार्य भइरहेको बताए । प्रारम्भिक रूपमा १ सय २० वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको उनले जनाए । ‘त्यसबाहेक १५–२० वटा निजी घरमा पनि आगजनी भएको छ,’ जोशीले भने, ‘साढे ५ सय मोटरसाइकल र सय बढी ४ पांग्रे सरकारी सवारीसाधन पनि जलाइएको छ ।’
जोशीका अनुसार आन्दोलनमा ध्वस्त बनाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले भने आइतबारदेखि केही सेवा सुचारु गरेको छ । ‘आगजनीले ध्वस्त बनेको भवनबाटै नागरिकता शाखा चलाएका छौँ,’ उनले भने, ‘राष्ट्रिय परिचयपत्र र राहदानी शाखाको काम सुचारु गर्न भने निकै समय लाग्ने देखिन्छ ।’
जोशीका अनुसार उपकरण र कागजात आगजनीमा जलेर नष्ट भएकाले शून्यबाट सुरुवात गर्नुपर्ने भएको बताए । ‘नागरिकताका अभिलेख, मुद्दाका कागजात र राहदानीका कागजात जलेर नष्ट पारिएको छ,’ उनले भने ।
जिल्ला अदालत कैलालीले जेनजी आन्दोलनपछि रोकिएका सेवा सुचारू गर्ने निर्णय गरेको छ । जेनजी आन्दोलनका भएको आगजनी, तोडफोड र लुटपाटका कारण भएको भौतिक क्षति र त्यसपश्चात उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै अदालतले आकस्मिक पूर्ण बैठक बसेर आगामी दिनमा हुने कामकारबाहीबारे निर्णय गरेको हो ।
जिल्ला अदालतले आइतबार जारी गरेको सूचनामा सेवाग्राहीलाई अदालतका विभिन्न कामकारबाहीबारे जानकारी दिएको छ । सूचना अनुसार आइतबार (भदौ २९ गते) बाट बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता, म्याद थप, जरुरी पक्राउ पूर्जीको स्वीकृति र पक्राउ अनुमति सम्बन्धी कार्य पुनः सुचारु हुने भएको छ । तर अन्य मुद्दा दर्ता, नियमित पेसीका मुद्दा सुनुवाई तथा तारिख निर्धारण लगायतका नियमित कामकारबाही भने अर्को सूचना नभएसम्मका लागि स्थगित गरिने अदालतले जनाएको छ ।
अदालतमा उपस्थित हुन नसकी गुज्रिन गएको म्याद वा तारिखबारे पनि अदालतले व्यवस्था मिलाएको छ । सूचना अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५९, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २२५ तथा सर्वोच्च अदालतको बृहत पूर्ण ईजलासको आदेशको आधारमा अदालतको कामकारबाही सुचारु भएको मितिले बाटोको म्यादबाहेक ३० दिनभित्र उपस्थित भई म्याद वा तारिख थाम्न सकिने व्यवस्था मिलाइएको छ ।
यस्तै भन्सार कार्यालयले पनि आइतबारदेखि गाडीको ग्यारेजबाट काम सुरु गरेको छ । ‘शुक्रबार पनि पेट्रोलियम पदार्थका गाडी जाँच पासको काम गरेका थियौँ,’ भन्सार कार्यालयका सूचना अधिकारी खेमप्रसाद अर्यालले भने, ‘आजदेखि अन्य सेवा पनि सुचारु गरेका छौँ ।’
जेनजीको प्रदर्शनका क्रममा आगजनीमा भन्सार कार्यालयको भवनसँगै सवारीसाधन, उपकरण, फर्निचर र कागजात जलेको अर्यालले बताए । अर्यालका अनुसार लिलामीको प्रक्रियामा रहेका २ सय बढी मोटरसाइकल पनि आगजनीमा नष्ट पारिएको छ । भन्सार कार्यालयले ती सवारीसाधन लिलामीका लागि २४ गते नै बोलपत्र आह्वानको तयारी गरेको थियो ।
त्यस्तैगरी भूमिसुधार तथा मालपोत कार्यालय भने दसैँअघि सेवा सुचारु गर्न सक्ने अवस्थामा नभएको जनाएको छ । ‘दर्ता र चलानीका कागजात जलाएर नष्ट पारिएको छ,’ भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका प्रमुख प्रेमबहादुर दौल्यालले भने, ‘तार जलाएर विद्युत् सेवा पूर्ण रूपमा बन्द छ । कम्प्युटर र प्रिन्टर चोरी गरिएको छ । दसैँअघि सेवा सुचारु गर्न सकिने अवस्थामा छैन ।’ कार्यालयका प्रमुख दौल्यालका अनुसार आइतबारदेखि सरसफाइको काम सुरु गरिएको छ ।
नापी कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए । सो क्रममा कार्यालयमा रहेका कम्प्युटर चोरी भएको छ । त्यहाँ पनि सफाइको काम सुरु गरिएको छ । यस्तै, यातायात व्यवस्था कार्यालय कैलालीले भने आगजनीका कारण क्षति पुगेको भन्दै २४ भदौदेखि अर्को सूचना जारी नभएसम्म सेवा प्रवाह र प्रयोगात्मक परीक्षाका कार्यक्रम स्थगित गरिएको जनाएको छ । कार्यालयका अधिकृत चक्रप्रसाद उपाध्यायले क्षतिको मुचुल्का संकलनका गरेको बताए । ‘सवारीसाधनका कागजात जलेर नष्ट पारिएको छ,’ उनले भने, ‘विभागको निर्देशनअनुसार अगाडि बढ्छौँ ।’
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा प्रदेशका मन्त्रालय, संघीय सरकारमातहतका कार्यालय र केही वडा कार्यालयमा आगजनी गरिएको थियो । नेपाल टेलिकम, विद्युत् प्राधिकरण, स्वास्थ्य कार्यालय, धनगढी उपमहानगरपालिका, जिल्ला प्रहरी र मातहतका कार्यालय भने सुरक्षित छन् । यस्तै, गरी कैलाल जिल्लामा रहेको अन्य स्थानीय तहको अवस्था पनि नाजुक रहेको छ ।
गौरीगंगामा असोज १ गते देखि कार्यालय सञ्चालन गरिने
गौरीगंगा नगरपालिका असोज १ गते देखि सञ्चालनमा आउने भएको छ । नगरपालिकामा आइतबार बसेको सर्वदलीय–सर्वपक्षीय बैठकपछि बसेको कार्यपालिका बैठकले जेनजी आन्दोलनका क्रममा जलेको नगरपालिका, वडा, भवन असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
प्रमुख प्रशासकीय राम बहादुर केसीले कार्यपालिका बैठकबाट भाद्र ३० देखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताए । उनले भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा नगरपालिकाको प्रशासकीय भवन, वडा कार्यालय भवन, सवारी साधन र कार्यालय सञ्चालन उपकरण जलेर नष्ट भएको बताए ।