Skip to main content

मेयर हमाल र कार्यपालिका सदस्यहरुबीचको सम्बन्ध किन चिसियो ?

Submitted by editor on
शिवराज भट्ट
गोपाल हमाल

धनगढी : धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धि कार्यविधि २०८० पास भएपछि मेयर गोपाल हमाल र कार्यपालिकाका बहुमत सदस्यहरुको सम्बन्ध चिसिएको छ । कार्यपालिका सदस्यहरुले नगरपालिकाका धेरै कार्यक्रमहरुमा अनुपस्थित रहने गरेका छन भने उनीहरुले नगरप्रमुख प्रति गुनासो गर्दै हिडने गरेका छन । 

नगर कार्यपालिकामा एमाले बाहेकका बहुमत सदस्यहरुले औपचारिक रुपमा घोषणा नगरेपनि नगरपालिकाले आयोजना गरेका कार्यक्रमहरु अघोषित रुपमा बहिस्कार झैं गर्न थालेका हुन । 

नगरप्रमुखको सचिवालयका अनुसार मंसिर मंसिर २४ गते पास भएको जग्गा प्लटिङ सम्बन्धि कार्यविधि २०८० पछिका ५ वटा कार्यक्रमहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकटका कार्यपालिका सदस्यहरुले बहिस्कार गरेका छन । नगरकार्यपालिकामा उनीहरुको नै बहुमत छ । 

सचिवालयले दिएको जानकारी अनुसार फुलबारीमा प्रहरी महानिरिक्षक बसन्त बहादुर कुवरले उद्घाटन गरेको लागुपदार्थ दुुब्र्यवसनीहरुको सुधार केन्द्र (आसरा केन्द्र) को उद्घाटनमा पनि कार्यपालिका सदस्यहरु अनुपस्थित रहे । 

वडा नम्बर १६ आयोजना भएको  क्यासर शिविरमा कार्यपालिका सदस्यहरु नआएको सचिवालयले जनाएको छ । तर त्यो दिन वडा अध्यक्ष रामलाल चौधरी भने सहभागि भएका बताएका छन । चौधरी नेकपा माओवादी केन्द्रबाट कार्यपालिका सदस्य पनि हुन । 

सचिवालयले फुुलवारीमा रहेको ओलकापुरी भोकेशनल स्कुलको पहिलो ब्याजका विद्यार्थीहरुको सम्मान तथा विदाई कार्यक्रम, उपमेयर कन्दकला रानाले उद्घाटन गरेको राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रम र प्रमुख प्रशासकयि अधिकृत रामलाल श्रेष्ठको शनिबार भएको विदाई कार्यक्रममा नेकपा एमाले बाहेकका कार्यपालिकाका सदस्यहरु कोही पनि नआएको जनाएको छ ।

धनगढी उपमहनरपालिकाको २९ सदस्यीय कार्यपालिकामा नेपाली काँग्रेसका ११ जना वडाध्यक्ष सहित १९ जना, नेकपा एमालेका उपमेयर र ६ जना वडाध्यक्ष तथा नेकपा माओवादी केन्द्रका २ जना वडाध्यक्ष कार्यपालिका सदस्य छन । अहिले उपमहानगपालिकाको २९ सदसयीय कार्यपालिकामा गठबन्धनका मात्रै २१ जना  सदस्य रहेका छन । 

नेपाली काँग्रेसको तर्फबाट कार्यपालिका सदस्य तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरी भने कार्यक्रम बहिस्कारको कुरा गलत भएको दाबी गर्छन । तर उनी मेयर हमाल र कार्यपालिका सदस्यबीच पछिल्लो समय केही असमझदारी भएको भने स्वीकार गर्छन ।

मुडभरी भन्छन, ‘जग्गा प्लटिङ सम्बन्धि कार्यविधि २०८० आएपछि नगरप्रमुख हमाल र कार्यपालिकाका सदस्यबीच मनमुटाव भने भएको छ । त्यसका लागि नगरप्रमुखले कार्यपालिका बैठक बोलाउनु पथ्र्यो, हामीले लिखितै दिएर कार्यपालिकको बैठक बसाउन माग गरेका छौं तर अहिलेसम्म बोलाइएको छैन । पुस भीत्र नगरपरिषद गर्नुपर्ने प्रावधान छ । त्यो पनि भएन । सबैले ‘ईगो’ छोडनुुपर्छ ।’

उनले, कार्यक्रम बहिस्कारको कुनै निर्णय नभएको बताए । ‘औपचारिक निर्णय कुनै भएको छैन । सिस्टमको विरोध हो । कार्यक्रममा कसैको फुर्सद हुन्छ भने गए होलान नभएका गएनन होला ।’

नेपाली काँग्रेसकै अर्का वडाध्यक्ष बुद्धी खडकाले पनि कार्यक्रम बहिस्कारको कुनै योजना नरहेको बताए । उनले पनि मेयर हमालले कार्यपालिकाको बेठक बोलाएर भएका असमझदारी टुंगाउनुुपर्ने बताए । 

‘मेयर साप प्रति कुनै पुर्वाग्रह छैन । तर उहाँले पनि कार्यपालिकाको बैठक बोलाएर समस्या समाधान गर्ने पहल गर्नुुपर्छ । अहिलेसम्म त हामीले सहयोग नै गरेका छौं नी’ खडकाले भने । उनले आमाको उपचारका लागि नेपालगञ्जमा भएकाले पनि केही कार्यक्रमहरुमा जान नपाएको स्वीकार गरे ।

गठबन्धन भीत्रको अर्को दल नेकपा माओवादीका तर्फबाट कार्यपालिका सदस्य रामलाल चौधरीले पनि मेयर हमाल प्रति कुनै पुर्वाग्रह नभएको बताए । ‘मेरो वडामा क्यान्सर शिविर भयो, म सहभागि भए । मेरै अध्यक्षतामा कार्यक्रम भयो तर अरु कार्यपालिका सदस्य किन आएनन भन्ने कुरा थाहा भएन’ उनले भने । चौधरी वडा नम्बर १६ का वडाध्यक्ष पनि हुन ।

माओवादीको तर्फबाट अर्का वडाध्यक्ष भागीराम चौधरीले पनि मेयर हमाल प्रति गुनासो पोख्दै भने, ‘मेयर सापले पनि आफ्नो कार्यपालिका सदस्यहरुलाई कसरी सम्झाउने भन्ने कुरामा आउनुप¥यो । बैठक नै नबसाएर कसरी समाधान हुन्छ ? सुनी रहेको छु की उहाँले अब बैठक नै बोलान्न भनिरहनुभएको छ रे । तर समाधान बसेरै खोजिनुपर्छ ।’

कार्यपालिकाका बहुमत सदस्यहरु एकातिर भएपछि मंसिर २४ पछि धनगढी उपमहनगरपालिकाको कार्यपालिकाको बैठक बस्न सकेको छैन । पुस मसान्तभीत्र अर्धबार्षिक समिक्षा सहितको नगरपरिषद गरिसक्नुपर्छ । त्यो पनि नहुँदा नगरको विकासको गतीमा प्रभाव पर्ने देखिएको छ । 

अधिकांस कार्यपालिका सदस्य जग्गा प्लटिङ कार्यविधि संसोधनको माग गरिरहेका छन भने मेयर हमाल त्यसमा टसको मस नहुने अडानमा छन । मेयर नृप बहादुर ओडकै पालामा बनेको जग्गा प्लटिङ सम्बन्धी कानून अहिले कार्यविधि बनाएर लागुमात्रै गर्न खोजेको मेयर हमालको दाबी छ ।