Skip to main content

अवलोकनकर्ताको रोजाईमा कोदोको मःम र मकैको रोटी

Submitted by editor on
ईबिगुल संवाददाता
कोदोको मःम र मकैको रोटी

महेन्द्रनगर : महेन्द्रनगरस्थित ब्रिष्टन कलेजले आयोजना गरेको रोजगार मेलामा अवलोकनकर्ताको आकर्षणमा कोदोको मःम र मकैको रोटी परेको छ । बिहीबारदेखि सुरु भएको रोजगार मेलामा सो कलेजका विद्यार्थीले स्थानीय परिकारलाई प्रवद्र्धन गर्न ‘पश्चिमेली चुलो’ सञ्चालनमा ल्याएका छन् । 

समूह समूह बनाएर स्थानीय खानाका परिकार प्रवर्द्धन गरिरहेको विद्यार्थी बिन्दु विष्टले बताइन् । ‘हाम्रो मुख्य उद्देश्य स्थानीय खानाका परिकारलाई प्रोत्साहन र प्रवर्द्धन हो’उनले भनिन । कोदोको मःम बनाउँदै गरेका विद्यार्थी ज्योति थापाले आफूले तयार पारेका परिकार धेरैले रुचाएको प्रतिक्रिया दिइन् । ‘मैदाको मःमको साटो कोदोको मःम धेरैले रुचिपूर्वक खानुभएको छ’ उनले भनिन् । उनले चिसो मौसममा कोदो शरीरका लागि फाइदाजनक भएको बताइन् । 

पढाइ सँगसँगै व्यवहारिक ज्ञानको क्षमता विकासका लागि मेलाले फाइदा पु¥याएको उनको भनाइ छ ।  व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीलाई कक्षाकोठामा सिकेको सीपलाई व्यवहारमा लागूगरी स्वरोजगार बन्न सिकाउनका लागि मेला आयोजना गरिएको कलेजका प्रिन्सिपल निशा भट्टले बताईन । 

उनले उत्कृष्ट व्यापारिक योजना भएका विद्यार्थीलाई व्यवसाय सञ्चालन गर्न कलेजले बिनाधितो, बिनाब्याज ४० हजार ऋणसमेत प्रदान गर्ने जानकारी दिए ।  ‘रोजगार मेलाको उद्देश्य विद्यार्थीको सीप र क्षमता प्रदर्शन गर्न र उद्यमशीलतातर्फ उन्मुख गराउनु हो’ उनले भनिन । ‘उत्कृष्ट व्यापारिक योजना भएका विद्यार्थीलाई हामीले आर्थिक सहयोग प्रदान गरेका छौँ ।’

मेलामा स्थानीय थारु परिकार डिक्री र कोदोको मःम, मट्का चिया, मासको बटुकलगायत परिकार छन् ।  मेलामार्फत विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा अवसर खोज्न र आफ्नो क्षमता परीक्षण गर्न सहयोग पुगेको विद्यार्थीहरूको  बुझाइ  छ ।