Skip to main content

यी मागहरुका लागि आएको हो मेयर गोपाल हमाललाई कालोमोसो लगाउने धम्की

Submitted by editor on
जग्गा प्लटिङ कार्यविधि २०८० राजपत्रमा प्रकाशित भएपछि बहुमत कर्यपालिका सदस्यहरुले कार्यक्रमहरुमा जान छोडेका छन भने सोमबार मोहन वैद्य नेतृत्वको माओवादीले पनि हमालको घरमा कालो झण्डा राख्ने र कालोमोसो दल्ने सम्मको धम्की दिएको छ ।
शिवराज भट्ट
गोपाल हमाल

धनगढी : धनगढी उप–महानरपालिकाका मेयर गोपाल हमाललाई चौतर्फी घेराबन्दी गरिएको छ । जग्गा प्लटिङ कार्यविधि २०८० राजपत्रमा प्रकाशित भएपछि बहुमत कर्यपालिका सदस्यहरुले कार्यक्रमहरुमा जान छोडेका छन भने सोमबार मोहन वैद्य नेतृत्वको माओवादीले पनि हमालको घरमा कालो झण्डा राख्ने र कालोमोसो दल्ने सम्मको धम्की दिएको छ । 

२०८० सालको मंसिर २४ गते धनगढी उपमहानगरपालिकाले  जग्गा प्लटिङ सम्बन्धि कार्यविधि २०८० पास ग¥यो । त्यही दिन त्यो कार्यविधि राजपत्रमा प्रकासित पनि भयो । तर अधिकांस कार्यपालिका सदस्यहरुले आफुहरुसँग सल्लाह नै नगरी कार्यविधि पास भएको आरोप लगाए ।

नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरु, कार्यपालिकाका अधिकांस सदस्यहरुले पत्रकार सम्मेलन गरेर नै मेयरले कार्यविधि उपर छलफल नै गर्न नदिएको र कार्यविधि अध्ययनका लागि नदिएको आरोप लगाए । उनीहरुले नगरसभा आह्वानको माग गर्दै उक्त कार्यविधि उपर फेरि छलफल हुनुपर्ने र संसोधन सहित पास हुनुपर्ने अडान लिए ।

तर मेयर हमाल भने त्यो कार्यविधि अरु विधेयक जस्तै सभामा प्रस्तुुत भएर पास भएको दाबी गर्छन । उनको के पनि दाबी छ भने जग्गा प्लटिङको कानून यसअघिकै मेयरमा पालामा पास भएको तर अहिले कार्यविधि मात्रै पास भएको हो । त्यसपछि कार्यविधि उपर सर्वोच्च अदालतमा रिट परेको छ । रिट निबेदकलाई सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अहिले त्यो रिट सर्वोच्चमै विचराधीन छ ।

बहुमत कार्यपालिका सदस्यहरु पुनः कार्यविधि उपर छलफल गर्न नगरसभा बोलाईनुुपर्ने अडानमा छन भने मेयर हमाल अदालतमा विचाराधीन रहेको विषय भएकाले त्यसमा पुनः छलफल नगराउने पक्षमा छन । 

त्यतीबेला देखि मेयर हमालले आयोजना गरेका अधिकांस कार्यक्रममा कार्यपालिकामा रहेका वडाध्यक्षहरुले अघोषित रुपमा मेयर गएका कार्यक्रमहरु बहिस्कार गर्न थालेका छन । 

मेयर हमालको सचिवालयले पनि फुलबारीमा प्रहरी महानिरिक्षक बसन्त बहादुर कुवरले उद्घाटन गरेको लागुपदार्थ दुुब्र्यवसनीहरुको सुधार केन्द्र (आसरा केन्द्र) को उद्घाटन, वडा नम्बर १६ आयोजना भएको  क्यासर शिवि, फुुलवारीमा रहेको ओलकापुरी भोकेशनल स्कुलको पहिलो ब्याजका विद्यार्थीहरुको सम्मान तथा विदाई कार्यक्रम, उपमेयर कन्दकला रानाले उद्घाटन गरेको राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रम र प्रमुख प्रशासकयि अधिकृत रामलाल श्रेष्ठको विदाई कार्यक्रम कार्यपालिका सदस्यहरुले बहिस्कार गरेको जनाएको छ ।
यद्यपी वडा अध्यक्षहरुले भने कार्यक्रम बहिस्कार नगरेको दाबी गर्दै आएका छन । उनीहरु मेयर र कार्यपालिकाका सदस्यहरुबीच केही असमझदारी भएकाले नगरसभा बोलाएर मेयर हमालले नै त्यसको समाधान खोज्नुपर्ने बताउदै आएका छन । 

धनगढी उपमहानरका २९ सदस्यीय कार्यपालिकामा काँग्रेसका २१ र माओवादी केन्द्रका २ गती २३ जनाको बहुमत छ । उपमेयर र ६ जना कार्यपालिका सदस्य रहेको नेकपा एमाले भने अहिले पर्ख र हेरको अवस्थामा देखिएकोछ । 

सोमबार मात्रै मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युुनिस्ट पार्टी नेपालले मेयर हमाललाई ४५ बुँदे मागपत्र हुलाकबाट पठाएको तर त्यसमा कुनै पहल नभएको भन्दै हमालको घरमा कालोझण्डा गाढने र कालोमोसो दल्ने धम्की दिएको छ । क्रान्तिकारी कम्युुनिस्ट पार्टी नेपालले चरणबद्ध कार्यक्रमको घोषणा पनि गरेको छ ।