Skip to main content

सामाजिक विकास मन्त्री साउँदले ‘मार्ने’ धम्कीको आरोप लगाउनेसँग गरे मिलापत्र

Submitted by editor on
ईबिगुल संवाददाता
सामाजिक विकास मन्त्री साउँदले ‘मार्ने’ धम्कीको आरोप लगाउनेसँग गरे मिलापत्र

धनगढी  : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदले ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीमा मिलापत्र गरिएको छ ।

आर्थिक लेनदेनको विषयलाई लिएर मन्त्री साउँदले ज्यान सम्बन्धी धम्की दिएको भन्दै बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले सोमबार प्रहरीमा उजुरी दिएका थिए ।

तर उजुरी परेको भोलिपल्ट मंगलबार भने जिल्ला प्रहरी कार्यालय कैलालीमा मिलापत्र गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले मन्त्री साउँद र उजुरीकर्ताबीच मिलापत्र भएको जानकारी दिए ।

‘उहाँहरु बाहिरै छलफल गरेर आउनुभएको थियो । अघि बिहान दुवै जनाले मिलापत्र गरेर जानुभयो,’ चन्दले भने । यसअघि मन्त्री साउँदले भने बोहरासँग आफ्नो कुनै लेनदेन नभएको र धम्की समेत नदिएको बताएका थिए ।

तर बोहराले भने साउँदले विभिन्न मितिमा आफूसँग लिएको ऋण फिर्ता नगरेको र माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै प्रहरीमाथि उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीले मन्त्री साउँदविरुद्ध किटानी जाहेरी नभएर समान्य जाहेरी परेकाले मिलापत्र गरिएको जनाएको छ ।