Skip to main content

गोदावरीमा प्राकृतिक स्रोतको दोहन, एमालेद्वारा अनुुगमन

Submitted by editor on
ईबिगुल संवाददाता
अबैध दोहन

धनगढी : कैलालीको गोदावरी नगरपालिका–८ खुटिया नदीमा अबैध दोहन बढेको छ । मनपरि रुपमा नदीजन्य पदार्थको उत्खनन् भइरहेको स्थानीयको गुनासो छ । 

दैनिक रुपमा नदीजन्य पदार्थको अबैध उत्खनन् हुन थालेपछि नदी आसपासका वस्ती र निर्माण गरिएका भौतिक संरचनामा समेत क्षति पुग्ने अवस्था सिर्जना भएको छ । वातावरणीय प्रभाव मुल्यांकन (इआइए) विपरीत नदी आसपासका क्षेत्रबाट नदीजन्य पदार्थको उत्खनन् भइरहेको हो ।

नदीजन्य पदार्थको अबैध उत्खनन् बढ्न थालेपछि नेकपा एमाले गोदावरी नगर कमिटीले अनुगमन समेत गरेको छ । गोदावरी नगरपालिका–८ स्थित खुटिया नदीको अनुगमन एमाले गोदावरी नगर कमिटीले अनुगमन गरेको हो । 

गोदावरी नगरपालिका–९ सेहरीस्थित झोलुंगे पुलको समेत नगर कमिटीले अनुगमन गरेको छ । खुटिया नदीबाट मनोमानी रुपमा नदीजन्य पदार्थको उत्खनन् भइरहेको कमिटीले गरेको अनुगमनबाट समेत देखिएको छ ।

नदी किनारका वस्तीहरुमै असर पर्ने गरी नदीजन्य पदार्थको अबैध उत्खनन् भइरहेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटि सदस्य एवम् गोदावरी नगर कमिटिका अध्यक्ष गोर्कण भट्टले बताए । उनले नगरपालिकाले मापदण्ड विपरीत नदीजन्य पदार्थ निकासी गरेको समेत आरोप लगाएका छन्।

गोदावरी नगरपालिका–२ गोदावरीमा पनि नदीजन्य पदार्थको अबैध उत्खनन् बढेको नगर कमिटी अध्यक्ष भट्टले बताए । उनले भने, ‘नदीको नाम निसाना नै मेटाउने गरी उत्खनन् भइरहेको छ, गोदावरीमा सय फिटभन्दा पनि गहिरो खाल्डो परेको छ ।’ 

गोदावरी नगरपालिकाका संयोजक देवराज भट्टले भने नगरपालिकाले वातावरणीय प्रभाव मुल्यांकन (इआए) गरेको क्षेत्रबाट मात्र नदीजन्य पदार्थ सङ्कलन हुदै आएको दाबी गर्दै आएका छन्।